२२ कार्तिक, काठमाडौँ । ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। रेडियोग्राफी र रेडिएसन थेरापीबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष नोभेम्बर ८ (कार्तिक २२) का दिन यो दिवस मनाइने गरिन्छ।
यस वर्षको दिवस ‘इमेजिङ उत्कृष्टतामार्फत स्वास्थ्य सेवा सशक्तीकरण’ भन्ने मूल नाराका साथ विश्वभर मनाइँदैछ । सन् १८९५ नोभेम्बर ८ का दिन जर्मनीका वैज्ञानिक विल्हेल्म रोइन्टजेनले एक्स–रेको आविष्कार गरेका थिए। उहाँको यही योगदानको सम्मानस्वरूप विश्व रेडियोग्राफी दिवस मनाइँदै आएको हो।
रेडियोग्राफी र रेडियोलोजी आधुनिक चिकित्सा विज्ञानका अभिन्न अंग हुन्। एक्स–रेले मानव शरीरभित्रका हड्डी र अन्य पदार्थको अवस्था पत्ता लगाउने गर्छ भने अल्ट्रासाउण्ड, सिटी स्क्यान र एमआरआई प्रविधिले शरीरभित्रका अंगहरूमा भएका समस्या बिना चिरफार पत्ता लगाउने चिकित्सकहरूले बताएका छन्।
वरिष्ठ रेडियोलोजिस्ट डा. शर्मा पौडेलका अनुसार प्रविधिको तीव्र विकाससँगै रेडियोलोजी अब रोग पत्ता लगाउने मात्र होइन, उपचार गर्ने विधिका रूपमा पनि विकसित हुँदै गएको छ। “रेडियोलोजीले बिरामीको सही निदान र प्रभावकारी उपचारमा निर्णायक भूमिका खेल्दै आएको छ,” डा. पौडेलले भने।
उनका अनुसार रेडियोलोजी दुई प्रमुख शाखामा विभाजित छ – ‘डायग्नोस्टिक रेडियोलोजी’ (रोग पत्ता लगाउने) र ‘इन्टरभेन्सन रेडियोलोजी’ (विना चिरफार उपचार गर्ने)।
डा. पौडेलका शब्दमा, “रेडियोलोजी विकिरणबाट सुरु भएको भए पनि अहिले यस क्षेत्रमा विकिरणरहित प्रविधिहरू पनि समान रूपमा प्रयोगमा आएका छन्।”
उनका अनुसार विकिरण प्रयोग गर्ने जाँचहरूमा एक्स–रे, सिटी स्क्यान, फ्लोरोस्कोपी, न्यूक्लियर मेडिसिन र मेमोग्राफी पर्दछन् भने विकिरण प्रयोग नगरी गरिने जाँचहरूमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) र एमआरआई पर्दछन्।
रेडियोलोजी प्रविधि निरन्तर परिष्कृत हुँदै गइरहेको बताउँदै विशेषज्ञहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता बढाउन रेडियोलोजी क्षेत्रका दक्ष जनशक्ति र उपकरणमा लगानी बढाउन सुझाव दिएका छन् ।















