Logo

२२ कात्तिक,सेढवा । पर्साका किसानहरू वर्षे बाली धान पाके पनि असान्दर्भिक मौसमी कारणले भित्र्याउन नसक्दा ठूलो चिन्तामा परेका छन्। सोना मन्सुली, मनी मन्सुली, कतरनी लगायतका जातका धान खेतमै पाकेका छन्, तर अविरल वर्षा र हावाहुरीका कारण कटानी गर्न नसकिएको किसानहरूको गुनासो छ।

गण्डक नहरभन्दा उत्तर तर्फको थरुहठ क्षेत्रमा रहेका किसानहरूले एक साताभन्दा बढी समय बितिसक्दा पनि धान भित्र्याउन नपाएको बताएका छन्। जिराभवानी गाउँपालिका–२, सेढवाका किसान बिरजु दास थारुका अनुसार छठ पर्वपछि कटनीका तयारी गरे पनि लगातारको वर्षा र हुरीले खेत भिजेका कारण हार्भेस्टर चलाउन सकिएको छैन।

“घाम लागे पनि खेतको सतह नसुकेकोले मेसिन भासिन्छ, मेशिन चलाउँदा खेत खाल्टो–प्वाल भएर अर्को बाली लगाउन पनि समस्या आउँछ,” थारुले बताए।

जगरनाथपुर गाउँपालिका–३ का किसान रामचन्द्र रामले खेतमा पानी जमेको र हुरीका कारण धान ढलेर बालामै उम्रिन थालेको बताए। “ज्यामी लगाएर काट्ने सोच्दा पनि अहिले मजदुर नै भेटिन्न, एक दुई दिनमा नकटे बाला जमिनमै झर्ने स्थिति छ,” उनले चिन्ता व्यक्त गरे।

धान रोपाइँदेखि नै पानीको अभाव झेल्दै आएका किसानहरू भित्र्याउने समयमा पनि मौसमी प्रतिकूलताले बाधा पुर्‍याएपछि आर्थिक रूपमा कमजोर बन्दै गएका छन्। किसानहरूले सरकारले तत्काल राहत र प्रविधिक सहयोगका कार्यक्रम ल्याउनुपर्ने माग गरेका छन्।


सम्बन्धित समाचार