२३ कार्तिक, काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गएको असोजमा परेको अविरल वर्षाका कारण देशभरको कृषि तथा पशुपालन क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
मन्त्रालयका अनुसार असोज दोस्रो हप्तादेखि निरन्तर परेको वर्षाले बाली, पशुपन्छी, पूर्वाधार र बीउबिजन लगायतका क्षेत्रमा व्यापक क्षति पुर्याएको हो । मन्त्रालयले प्रदेशगत कृषि कार्यालयहरूमार्फत सम्बन्धित स्थानीय तहसँगको समन्वयमा तथ्याङ्क संकलन गरी उक्त क्षतिको प्रारम्भिक मूल्यांकन गरेको हो ।
मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार संकलित विवरणका आधारमा बाढी र वर्षाबाट प्रभावित किसानलाई राहत, बीमा सहजीकरण र सहयोगका कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय भइरहेको छ ।
“असोजको अविरल वर्षाले खेतमा काटेर राखिएका धानका बाली भिजेर कुहिने अवस्थासम्म पुगेका छन्,” जोशीले भने, “धानबालीमा भएको क्षतिका कारण यस वर्ष कुल उत्पादनमा समेत उल्लेख्य कमी आउने अनुमान गरिएको छ।”
क्षतिको विस्तृत अध्ययन र दीर्घकालीन प्रभाव मूल्याङ्कनका लागि मन्त्रालयले विशेष कार्यदल गठन गरेको छ । कार्यदलले प्रदेश र स्थानीय तहबाट प्राप्त प्रतिवेदनका आधारमा क्षतिको थप विश्लेषण गरी राहत तथा पुनःस्थापनाका सुझाव दिनेछ ।
जोशीका अनुसार किसानले असोजको वर्षामात्र होइन, कात्तिकमा परेको निरन्तर वर्षाबाट पनि धानबालीमा क्षति व्यहोरेका छन् । “कात्तिकको वर्षाबाट भएको क्षतिको विवरण पनि अहिले संकलन भइरहेको छ,” उनले बताए ।
मन्त्रालयले वर्षाबाट सबैभन्दा बढी असर खेतमा काटेर राखिएका धान, मकै, तरकारी र बालीमा परेको जनाएको छ । साथै, विभिन्न जिल्लामा पशुपन्छी, गोठ, कृषि सडक र सिंचाइ पूर्वाधारमा समेत क्षति पुगेको विवरण प्राप्त भएको छ ।
सरकारले संकलित विवरणका आधारमा प्रभावित किसानलाई क्षतिको अनुपातअनुसार सहयोग, बीउ वितरण र पुनः खेतीका लागि आवश्यक स्रोत परिचालन गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।

















