३० कात्र्तिक, काठमाडौं । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा ठूलो हेरफेर गर्दै चालु र पूँजीगत गरी कूल ७ अर्ब ५२ करोड २४ लाख ७२ हजार रुपैयाँ बजेट कटौती गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार, यो कटौती विकास निर्माणसँग सम्बन्धित पूँजीगततर्फ ५ अर्ब २१ करोड र कर्मचारीको तलबभत्ता तथा कार्यालय सञ्चालनसँग सम्बन्धित चालुतर्फ २ अर्ब ३१ करोड रहेको छ । यो बजेट कटौतीको मुख्य निशाना भौतिक पूर्वाधार विकास मन्त्रालय बनेको छ ।
भौतिक मन्त्रालयका योजनाहरूमा १० देखि ५० लाखसम्मका योजनामा १० देखि २० प्रतिशत र ५० लाखभन्दा माथिका सबै योजनामा ३० प्रतिशत बजेट कटौती गरिएको छ । भौतिकबाहेकका अन्य मन्त्रालयहरूमा भने १० लाखभन्दा माथिका योजनामा १० प्रतिशत मात्र बजेट घटाइएको छ। कटौती गरिएको यो सम्पूर्ण बजेट ‘अर्थ विविध’ शीर्षकमा जम्मा भएको मन्त्रालयले जनाएको छ ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा नेतृत्वको सरकारले असार १ गते ल्याएको ६७ अर्ब ४७ करोडको बजेट सुरुदेखि नै विवादित बनेको थियो । पूरक बजेट ल्याउने वा संशोधन गर्ने भन्ने अन्योलपछि सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबीच दलीय सहमति गरेर औचित्य पुष्टि नहुने र काम सम्पन्न नहुने योजनाहरूमा बजेट संशोधन गर्ने निर्णय गरिएको थियो। सोही सहमति र अध्ययन कार्यदलको प्रतिवेदनलाई टेकेर हाल बजेट कटौती गरिएको हो ।
चालुतर्फको कटौतीको निर्णयमा भने एक अर्ब रुपैयाँको हेरफेर भएको छ । सुरुमा ३ अर्ब ४७ करोड कटौती गर्ने निर्णय भए पनि बजेट संशोधनको निर्णय हुनुअघि नै दायित्व सिर्जना भएका र औषधि खरिदजस्ता आकस्मिक खर्च शीर्षकमा बजेट नकाटिने निर्णयले चालुतर्फको अन्तिम कटौती २ अर्ब ३१ करोडमा सीमित हुन पुगेको छ ।














