३० कात्र्तिक, काठमाडौं । काठमाडौँबाट काभ्रेको बनेपातर्फ चल्ने सार्वजनिक बसहरूमा पाकेट मार्ने र यात्रुहरूको सुनको सिक्री लुट्ने सक्रिय एउटा गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
यो गिरोह विशेषगरी भक्तपुर क्षेत्रमा सक्रिय थियो र लगातार लुटपाट मच्चाइरहेको थियो । पक्राउ पर्नेमा गिरोहका मुख्य योजनाकार कृष्ण बहादुर खड्का सहित आठ जना छन् । मोरङ घर भई भक्तपुरको सिपाडोल बस्ने ४२ वर्षीय खड्का लुटपाटमा माहिर रहेको प्रहरीले जनाएको छ । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार, खड्का यसअघि नै ३८ पटक पक्राउ परिसकेका छन् र उनी ३९औँ पटक प्रहरी हिरासतमा पुगेका हुन् ।
एसपी काजी कुमार आचार्यका अनुसार, खड्काले बा ४ च ३९१६ नम्बरको कार चढेर सुनको सिक्री लगाउने र पैसा बोक्ने व्यक्तिहरूको रेकी (जासुसी) गर्ने गर्थे । उनले युवाहरूलाई परिचालन गरी भक्तपुर आसपासमा सिक्री लुटपाट र पाकेटमारीको धन्दा नै चलाएका थिए । गिरोहका सदस्यहरू पनि कार वा मोटरसाइकलमा खड्कासँगै हिँड्थे र लुटपाट गर्न प्रतिकार भएमा आक्रमणसमेत गर्ने गरेको अनुसन्धानमा खुलेको छ ।
उनीहरूले १५ दिनअघि बनेपा जाने बसमा चढेर भक्तपुरको भातेढिकुर र राधेराधे जस्ता स्थानमा धकेलाधकेलको अवस्था सिर्जना गरेर महिलाहरूको सिक्री लुटेको प्रहरीले जनाएको छ । प्रहरीले आरोपीहरूबाट दुई तोला र एक तोला गरी दुई थान सिक्री बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १२ दिनको अनुसन्धानपछि कात्तिक २६ मा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो र अहिले उनीहरूमाथि चोरी र लुटपाटसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।














