Logo

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७९/८० मा ८० अर्ब ४८ करोड रुपैयाँ खुद आम्दानी गर्दै आफ्नो वित्तीय स्थितिमा ऐतिहासिक सुधार ल्याएको छ ।

विदेशी विनिमय सञ्चितिमा आएको उल्लेख्य वृद्धि नै केन्द्रीय बैंकको आम्दानी बढ्नुको मुख्य कारक रहेको छ, किनकि राष्ट्र बैंकले विदेशी मुद्रालाई नेपालबाहिर सरकारी र अन्य केन्द्रीय बैंकका वित्तीय औजारहरूमा लगानी गरेर नाफा कमाउँछ । प्रवक्ता गुरु पौडेलका अनुसार, राष्ट्र बैंकको गत वर्षको यो कमाइ अघिल्लो आर्थिक वर्षको तुलनामा ९.११ प्रतिशतले बढी हो ।

खुद आम्दानीलाई विभिन्न कोषहरूमा छुट्याएपछि केन्द्रीय बैंकले ४२ अर्ब रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। सरकारलाई दिइने यो रकम अघिल्लो वर्ष (२०८०/८१ मा ३७ अर्ब २२ करोड) भन्दा ५ अर्ब रुपैयाँले धेरै हो । यद्यपि, केन्द्रीय बैंकले वित्तीय प्रणालीमा देखिएको ‘अधिक तरलता’ व्यवस्थापनका लागि ठूलै रकम खर्चिनु परेको छ । गत आर्थिक वर्षमा मात्र करिब ९ अर्ब रुपैयाँ तरलता व्यवस्थापनका लागि खर्च भएको बैंकले जनाएको छ, र चालू आर्थिक वर्षमा यो खर्च अझ बढ्ने अनुमान गरिएको छ ।

यसैबीच, गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन आइतबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई बुझाउनुभएको छ, जसमा २०८२ असार मसान्तसम्म बैंकको सम्पत्ति तथा दायित्व २९ दशमलव २३ प्रतिशतले वृद्धि भई २६ खर्ब ७१ अर्ब पुगेको विवरण उल्लेख छ।


सम्बन्धित समाचार