१७ मंसिर, काठमाडौँ। नेपाल राष्ट्र बैंकको फितलो अनुगमन र राजनीतिक संरक्षणका कारण नेपालका ठूला वाणिज्य बैंकहरु धारासायी बन्ने खतरा देखिएको छ । प्रभु बैंकको उच्च तहका अधिकारीहरु पक्राउ परेको घटनाले वित्तिय क्षेत्र भित्र मौलाउदै गएको वित्तिय अराजकता र राजनीतिक पक्षपोषण नै मुख्य कारण भएको अनुमान लगाउन सकिन्छ ।
प्रभु बैंक पछि कुमारी बैंक, एनआइसी एशिया, हिमालयन र ग्लोवल आइएमई बैंक पछिल्ला दिनमा कमजोर वित्तीय सूचक र व्यवस्थापकीय विवादका साथै राजनीतिक संरक्षणको गम्भीर आरोपमा तानिएका छन् । नेपाल राष्ट्र बैंकको सुपरिक्षण विभागले बाणिज्य बैंकहरुको अनुगमन तथा नियमन राम्रोसँग गर्न नसक्दा सर्वसाधरण जनताको ढुकुटी नै असुरक्षित बन्ने हो कि भन्ने चिन्ता बढेको छ ।
पछिल्ला दिनमा कुमारी बैंकको बित्तिय सूचक राम्रो देखिएको छैन । बचतकर्तामा कुमारीको बैंकका बारेमा नकरात्मक प्रचार बढन थालेपछि बैंकले आफ्नो गुडविल जोगाउन धौ धौ पर्ने देखिएकोछ । अहिले टोकन अफ अप्रिसिएसन लाई प्रतिष्ठित अवार्ड भन्दै गरिएको झूटो प्रचार र नक्कली वित्तीय विवरण सार्वजनिक गरेको आरोपको बीचमा बैंकको लाभांश वितरण रोकिनु र खराब कर्जा (एनपिएल)मा तीव्र वृद्धि हुनुले लगानीकर्ताहरूमा निराशा छाएको छ।
नेपाल राष्ट्र बैंकको भूमिका शङ्कास्पद
कुमारी बैंकले लिलामी प्रक्रियामा गएका कर्जाको अनिवार्य प्रोभिजनिङ नगरी एनपीएल लुकाउँदा समेत नियामक निकाय नेपाल राष्ट्र बैंक मौन रहनुले राष्ट्र बैंकको भूमिका शङ्कास्पद देखिएको छ।
कुमारी बैंकका अध्यक्ष अमिर प्रताप राणा छन् । उनी नेपाली कांग्रेसकी नेतृ आरजु देउवाको नातेदार हुन । बैंकको नेतृत्व नेपाली कांग्रेस निकट र विशेषगरी आरजु देउवा निकट भएकोले राष्ट्र बैंकका अधिकारीहरूले बैंकलाई कारबाहीबाट संरक्षण दिएको गम्भीर आरोप लागेको छ।
कुमारी बैंकको अनियमितताको जानकारी हुँदाहुँदै पनि मौन बसेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल र कार्यकारी निर्देशक एंव सुपरिवेक्षण विभागका प्रमुख दिर्घ बहादुर रावल को भूमिकामाथि प्रश्न उठेको छ।
रावल नेपाली कांग्रेस निकट भएकोले उनी जुनियर कार्यकारी निर्देशक भएपनि गभर्नर पौडलले महत्वपूर्ण विभागको जिम्मेवारी दिएका छन् । विभागीय प्रमुख रावल र गभर्नर पौडेल सहपाठी भएकोले उनले जुनियर भएपनि रावललाई महत्वपूर्ण विभागको जिम्मेवारी दिएको बताइन्छ । यसमा दिर्घबहादुर रावललाई कांग्रेस नेतृ आरजु राणा देउवाको समेत आर्शिबाद रहेको छ ।
लगातार लाभांशमा रोक र सञ्चित नोक्सानी
कुमारी बैंकको सञ्चालक समितिले चालु आर्थिक वर्षका लागि पनि शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। गत वर्ष पनि बैंकले लाभांश दिएको थिएन। बैंकको पछिल्लो रिपोर्टअनुसार, हाल बैंकको सञ्चित नोक्सानी रकम ३ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।
बैंकको प्राथमिक पुँजीकोष नियामकले तोकेको ८.५० प्रतिशत भन्दा तल (पछिल्लो प्रतिवेदनमा ८.०३ प्रतिशत) झरेको छ। पुँजीकोष घट्नु र वितरणयोग्य नाफा ऋणात्मक हुनुले बैंकले लाभांश बाँड्न सक्ने अवस्था नरहेको देखाउँछ। कमजोर पुँजीकोष र लाभांश रोकिँदा संस्थापक लगानीकर्ताहरू समेत ठूलो सङ्ख्यामा शेयर बिक्री गरेर बैंकबाट बाहिरिने अवस्थामा पुगेका छन्।
खराब कर्जामा वृद्धि र रेटिङ डाउनग्रेड
कुमारी बैंकको सम्पत्ति गुणस्तरमा आएको गम्भीर ह्रासले यसलाई उच्च जोखिममा धकेलेको छ। बैंकको खराब कर्जा एनपिएलको प्रतिशत बढेर २० प्रतिशतको नजिक पुगेको छ तर बैंकले जारी गरेको केही रिपोर्टमा ५ प्रतिशत सम्म पुगेको उल्लेख छ । राष्ट्र बैंकको नियमअनुसार ५ प्रतिशत भन्दा बढी खराब कर्जा भएमा बैंकले शेयरधनीलाई नाफा वितरण गर्न पाउँदैन।
खराब कर्जा बढेका कारण बैंकको इम्पेयरमेन्ट चार्ज (कर्जा नोक्सानी व्यवस्था) पनि अर्बौंले बढेको छ, जसले नाफामा सिधै असर पारेको छ। नेपाल क्रेडिट रेटिङ एजेन्सीले समेत बैंकको प्राथमिक पुँजीकोषमा आएको गिरावट र उच्च खराब कर्जाका कारण यसको रेटिङ डाउनग्रेड गरेको थियो।
सीईओ र उच्च व्यवस्थापनमाथि प्रश्न
सामान्य टोकन लाई अवार्ड भन्दै गरिएको झूटो प्रचार र लिलामीमा गएका कर्जा फाइलहरूको प्रोभिजनिङ नगरी एनपीएल लुकाउने आन्तरिक निर्देशन दिएको आरोपले बैंकको उच्च व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ। बैंकका व्यापार अधिकृत क्षितिज खड्का, डेपुटी सीईओ सुधिर नाथ पाण्डे र सीईओ रामचन्द्र खनाल को निर्देशनमा अनियमितता भएको आरोप कर्मचारीहरूले लगाएका छन् ।
बैंकका सिईओ रामचन्द्र खनाल र व्यापार अधिकृत क्षितिज खड्काले हाइड्रोपावरमा बैंकले ऋण लगानी गर्दा पनि निश्चित प्रतिशत हाइड्रोमा शेयर लिने गरेको खनाल र खड्का माथि आरोप लाग्ने गरेको छ । यस सन्दर्भमा बैंकका व्यापार अधिकृत क्षितिज खड्काले बैंकका उच्च तहका अधिकृतमाथि लाग्ने गरेको आरोप गलत भएको बताए । बैंकको आफ्नै पोलिसी छ र नेपाल राष्ट्र बैंकको प्रत्यक्ष निगरानी रहन्छ, खड्काले भने, कसैले चाहदैमा ऋणीसँग अनुचित फाइदा लिनेगरी कार्य गर्न सक्दैन ।
एनसीसी बैंकसँगको मर्जर र पृष्ठभूमि
यसअघि, कुमारी बैंकले नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरी एकीकृत कारोबार सुरु गरेको थियो। यद्यपि, मर्जरपछि चुक्ता पुँजीका आधारमा ठूलो बैंक बने पनि वित्तीय अनुशासन र प्रतिफलका हिसाबले बैंक पछाडि परेको विश्लेषण गरिन्छ।
बैंकको लाभांश रोकिनु, एनपिएल बढ्नु, पुँजीकोष घट्नु, व्यवस्थापनमाथि लागेका गम्भीर आरोपहरू र राजनीतिक संरक्षणको आशङ्काले कुमारी बैंक अहिले विश्वसनीयताको सङ्कट र वित्तीय चुनौतीको दोहोरो घेरामा रहेको स्पष्ट हुन्छ।
















