Logo

१६ पुष, काठमाडौं । पोखराको चर्चित लिचीघारी जग्गा घुस प्रकरणमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्ताको विशेष अदालतमा बयान सुरु भएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा बुधबार पूर्वमन्त्री गुप्तासँग बयान लिने कार्य भइरहेको हो । अदालतका अनुसार गुप्ताको बयान सम्पन्न भएलगत्तै आजै उनको थुनछेक बहस अगाडि बढाइने तयारी गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री गुप्ता र अर्की पूर्वमन्त्री रन्जिता श्रेष्ठविरुद्ध पदको दुरुपयोग गरी ७८ लाख रुपैयाँ घुस लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अनुसन्धानका क्रममा गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्का गरिदिने र भूमि आयोगको सदस्य बनाइदिने प्रलोभन देखाई घरजग्गा व्यवसायीबाट पटक–पटक गरी मोटो रकम असुल गरेको दाबी गरिएको छ ।

अख्तियारले विशेष अदालतमा बुझाएको प्रमाणहरूमा अडियो रेकर्डिङ, बैंक कारोबारको विवरण र डिजिटल फरेन्सिक ल्याबको परीक्षण प्रतिवेदन समावेश छन्, जसले प्रतिवादीहरूबीच घुस लेनदेन भएको तथ्यलाई पुष्टि गरेको आयोगको भनाइ छ । यस प्रकरणमा पूर्वमन्त्री द्वयका साथै मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी र घरजग्गा व्यवसायीहरू सुजनकुमार तामाङ, खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगर गरी सात जनाविरुद्ध मुद्दा चलाइएको छ ।

डिजिटल फरेन्सिक परीक्षणमा प्राप्त श्रव्य–दृश्य सामग्रीमा कुनै छेडछाड नभएको र ती आवाजहरू प्रतिवादीहरूसँगै मेल खाएको निष्कर्ष ल्याबले निकालेपछि यो मुद्दा थप पेचिलो बनेको हो । उच्च पदस्थ व्यक्तित्वहरू संलग्न रहेको यस भ्रष्टाचार काण्डको अदालती प्रक्रियालाई आम नागरिकले निकै चासोका साथ नियालिरहेका छन् ।


सम्बन्धित समाचार