१६ पुष, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आन्तरिक लोकतन्त्र र एकतालाई मजबुत बनाउन पुस मसान्तभित्र विशेष अधिवेशन सम्पन्न गर्नुको विकल्प नरहेको जिकिर गर्नुभएको छ ।
राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विशेष अधिवेशन विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको खस्कँदो आत्मविश्वास र एकता जोगाउन अनिवार्य सर्त बनेको उल्लेख गर्नुभयो । थापाका अनुसार कांग्रेसले अहिले खोजिरहेको राष्ट्रिय भूमिका र आत्मविश्वासका लागि पार्टीभित्रका भिन्न मतहरूलाई समेट्ने एउटा साझा मञ्च आवश्यक छ, जुन विशेष अधिवेशनबाट मात्र सम्भव हुनेछ ।
महामन्त्री थापाले पार्टीभित्र एकले अर्कोलाई निषेध गर्ने र फरक विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले एकता सम्भव नहुने स्पष्ट पार्नुभएको छ। उहाँले राष्ट्र निर्माणको सामूहिक जिम्मेवारीबोधका साथ अघि बढ्नका लागि पार्टीभित्रै स्वच्छ र स्वस्थ प्रतिस्पर्धाको वातावरण हुनुपर्नेमा जोड दिनुभयो । फरक मत र दृष्टिकोणहरूलाई दमन गर्नुको साटो खुला छलफल र लोकतान्त्रिक अभ्यासको माध्यमबाट मात्रै पार्टीलाई एकताबद्ध बनाएर आम जनताको परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सकिने उहाँको तर्क छ।
आगामी निर्वाचनको तयारी र बदलिँदो राजनीतिक परिवेशमा कांग्रेसले आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीको आन्तरिक विवादलाई लोकतान्त्रिक विधिबाट टुङ्ग्याउनुपर्ने थापाको सन्देशको मुख्य सार रहेको छ । उहाँले राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक सन्दर्भलाई जोड्दै निषेधको राजनीति त्यागेर सामूहिक उत्तरदायित्वको बाटोमा लाग्न सबै तहका नेता तथा कार्यकर्ताहरूलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ।















