१६ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालबीचको लामो समयदेखिको दूरी अन्त्य गर्दै बुधबार राजधानीमा औपचारिक रूपमा ६ बुँदे एकता सम्झौता सम्पन्न भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले एकताको समझदारी पत्रमा हस्ताक्षर गरेसँगै दुई पार्टी अब एउटै झण्डामुनि गोलबद्ध भएका हुन् । यस ऐतिहासिक सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी नै रहनेछ भने नेतृत्वको बागडोर साविककै अध्यक्ष राजेन्द्र लिङ्देनले सम्हाल्नुहुनेछ । पार्टीको विधान, झण्डा र चुनाव चिह्न (हलो) लाई नै आधिकारिक रूपमा निरन्तरता दिने निर्णय दुई पक्षबीच भएको छ।
वैचारिक रूपमा यो एकताले २०७८ सालको महाधिवेशनबाट पारित सम्बर्धनवादलाई आफ्नो मुख्य दर्शन मानेको छ । जसअनुसार सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य, राजसंस्थासहितको लोकतन्त्र, र उदार अर्थतन्त्रलाई पार्टीको मार्गदर्शक सिद्धान्तको रूपमा आत्मसात् गरिएको छ ।
सबै धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रताको पक्षमा उभिँदै एकीकृत राप्रपाले सुदृढ स्थानीय स्वायत्त शासन र असंलग्न परराष्ट्र नीतिलाई आफ्नो राजनीतिक आधारशिला बनाउने प्रतिवद्धता व्यक्त गरेको छ । यसले राष्ट्रवादी र परम्परावादी शक्तिहरूलाई वैचारिक रूपमा थप प्रष्ट र एकीकृत बनाएको विश्लेषण गरिएको छ।
साङ्गठनिक समायोजनका सन्दर्भमा भने २०७८ सालको महाधिवेशनमा निर्वाचित भई राप्रपा नेपालमा गएका सदस्यहरूलाई पुरानै पदमा बहाल गरिने सहमति भएको छ। राप्रपा नेपालका अन्य पदाधिकारी र सदस्यहरूलाई आपसी सहमतिका आधारमा केन्द्रीय समितिमा समेटिनेछ भने जिल्ला तथा स्थानीय तहका संरचनाहरूलाई पनि सम्मानजनक ढङ्गले समायोजन गरिने समझदारी पत्रमा उल्लेख छ ।
यद्यपि, एकीकृत पार्टीमा कमल थापाको विशिष्ट भूमिका र मर्यादाक्रमका बारेमा भने सहमति पत्रमा स्पष्ट खुलाइएको छैन, जसलाई भावी छलफलका आधारमा टुङ्ग्याइने अनुमान गरिएको छ।
















