१६ पुष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापासँगको एकतासँगै पार्टीले पूर्णता पाएको भन्दै निकै भावनात्मक अभिव्यक्ति दिनुभएको छ ।
बुधबार राप्रपा र राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कमल थापा पार्टीमा नहुँदा आफूले ठूलो रिक्तता महसुस गरेको स्वीकार गर्नुभयो । उहाँले थापाले पार्टी छाडेर जाँदा आफूलाई अपूर्ण जस्तो लागे पनि अध्यक्षको जिम्मेवारीका कारण बाहिर प्रकट गर्न नसकेको र रुँदै हिँड्न मिल्ने अवस्था समेत नरहेको भन्दै विगतको पीडा स्मरण गर्नुभयो ।
गतका दिनहरूमा कमल थापाबिना पनि पार्टी चल्छ भनेर कार्यकर्तामाझ मनोबल बढाउनु आफ्नो बाध्यता रहेको उल्लेख गर्दै लिङ्देनले भन्नुभयो, ‘उहाँ नहुँदा मेरो मनमा जहिले पनि एउटा रिक्तता भइरहन्थ्यो, तर नेतृत्वमा रहेकाले मैले ती भावनाहरू दबाउनुपरेको थियो।ू आजको एकताले आफू मात्र नभई सम्पूर्ण कार्यकर्ताहरूमा खुसीको सञ्चार गराएको र सबैभन्दा बढी खुसी आफू स्वयम् भएको उहाँले बताउनुभयो। कमल थापाको पुनरागमनले राप्रपाको राजनीतिमा एउटा महत्वपूर्ण अध्याय थपिएको उहाँको ठम्याइ छ ।
आगामी कार्यदिशाका बारेमा बोल्दै अध्यक्ष लिङ्देनले पार्टी कुनै एक व्यक्तिको प्रयासले मात्र चल्न नसक्ने भएकाले सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले कसैलाई पनि भेदभाव नगरिने र सबैलाई सम्मानजनक ढंगले मिलाएर लैजाने जिम्मेवारी आफ्नो काँधमा आएको स्पष्ट पार्नुभयो । एकताको यो क्षणले राप्रपालाई थप बलियो र एकीकृत शक्ति बनाउने विश्वास दिलाउँदै उहाँले कार्यकर्ताहरूलाई कुनै पनि संशय नराखी संगठन निर्माणमा जुट्न आग्रह गर्नुभयो ।















