Logo

१६ पुष, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीमाथि विस्तृत छानबिन र अध्ययन प्रक्रिया सुरु गरेको छ ।

राजनीतिक दलहरूले बुझाएको नामावलीमा कानुन बमोजिमको क्लस्टर (समावेशी समूह) मिलेको छ वा छैन भन्ने विषयमा आयोगले सूक्ष्म अध्ययन थालेको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्राप्त सूचीको अध्ययन पुस २० गतेसम्म सम्पन्न गरिनेछ र सोही दिन त्रुटी पाइएका दलहरूलाई सच्याउनका लागि पत्राचार गरिनेछ। दलहरूले आयोगको निर्देशन अनुसार क्लस्टर मिलाएर संशोधन बुझाउन पुस २७ गतेसम्मको समय पाउनेछन् ।

आयोगको कार्यतालिका अनुसार उम्मेदवारहरूलाई आफ्नो नाम फिर्ता लिनका लागि पुस २८ गतेको समय तोकिएको छ भने नाम फिर्ता लिई रिक्त हुन आएका स्थानमा नयाँ उम्मेदवार मनोनयन गर्न दलहरूले पुस ३० गतेसम्मको अवधि पाउनेछन् । त्यसपश्चात माघ ४ गते उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। प्रकाशित नामावलीमा उम्मेदवारको योग्यता सम्बन्धी दाबी–विरोध गर्न चाहनेले माघ ५ देखि १० गतेसम्म निवेदन दिन सक्नेछन्। प्राप्त उजुरीहरूमाथि आयोगले माघ १७ गतेसम्म जाँचबुझ गरी निर्णय लिनेछ ।

निर्वाचनको अन्तिम तयारीलाई तीव्रता दिँदै आयोगले माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । सबै प्रक्रिया पूरा भएपछि फागुन २१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । अहिलेको चरणमा विशेषगरी समावेशी सिद्धान्त अनुसार महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु र मुस्लिम लगायतको कोटा मिले नमिलेको विषयमा आयोगको कडा निगरानी रहेको छ ।


सम्बन्धित समाचार
भर्खरै