Logo

१६ पुष, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अब पूर्ण रूपमा निर्वाचनको दिशामा अगाडि बढिसकेको दाबी गर्दै चुनाव हुने विषयमा रहेका सम्पूर्ण अन्योलता समाप्त भएको उद्घोष गर्नुभएको छ ।

बुधबार नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाडौँमा आयोजना गरेको एक विशेष संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खरेलले अहिले शीर्ष नेताहरूको बढ्दो दौडधुप र देशव्यापी राजनीतिक सक्रियता नै चुनाव सुनिश्चित भएको प्रमुख प्रमाण भएको बताउनुभयो । प्रत्यक्ष निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्र निर्धारण गर्ने प्रक्रिया अघि बढेकाले अब कसैले पनि निर्वाचनका बारेमा शङ्का उपशङ्का गरिरहनु नपर्ने उहाँको तर्क छ ।

मन्त्री खरेलले मुलुकमा पछिल्लो समय सिर्जना भएको राजनीतिक माहोलले निर्वाचनको वातावरणलाई अझ मजबुत बनाएको बताउनुभयो। ‘मलाई अनुभूति भएको छ, सिङ्गो देश निर्वाचनमय भइसकेको छ, उहाँले भन्नुभयो, ‘नेताहरू जनताको घरदैलोमा पुग्न थाल्नु र दलहरू आन्तरिक तयारीमा जुट्नुले लोकतन्त्रको यो उत्सव अब कसैले रोकेर नरोकिने सुनिश्चित गरेको छ’ उहाँले सरकार निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न पूर्ण प्रतिबद्ध रहेको समेत स्पष्ट पार्नुभयो ।

सोही अवसरमा मन्त्री खरेलले सुशासनको पाटोमा चर्चा गर्दै पछिल्लो दुई दशकको इतिहासमा भ्रष्टाचारविरुद्धको अभियान निकै प्रभावकारी भएको दाबी गर्नुभयो । उहाँले विगत २० वर्षको तुलनामा अहिले अदालतमा भ्रष्टाचारका मुद्दाहरू सबैभन्दा धेरै दर्ता भएको तथ्याङ्क प्रस्तुत गर्दै सरकारले दण्डहीनता अन्त्य गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । एकातिर निर्वाचनको सुनिश्चितता र अर्कोतिर सुशासनका लागि चालिएका कदमहरूले मुलुकलाई नयाँ दिशा दिने उहाँको विश्वास छ ।


सम्बन्धित समाचार
भर्खरै