प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

१७ पुष, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं कम्युनिस्ट नेता झलनाथ खनालले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूको खेलमैदान बनाउँदै युक्रेन जस्तै द्वन्द्व र अस्थिरताको भुमरीमा धकेल्न खोजिएको गम्भीर आशंका व्यक्त गर्नुभएको छ ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा देशवासीका नाममा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको भू–राजनीतिक संवेदनशीलतामाथि वैदेशिक हस्तक्षेप बढेको र त्यसका लागि भित्रैका ुदलालु शक्तिहरू सक्रिय रहेको टिप्पणी गर्नुभएको हो । खनालले विदेशी शक्तिहरूले पैसा र प्रलोभनको बलमा नेपाली समाजमा भ्रम फैलाउने, राजनीतिक दलहरूप्रति वितृष्णा जगाउने र अन्ततः मुलुकलाई हिंसा एवं विध्वंसतर्फ लैजाने नियोजित षड्यन्त्र बुनिरहेको दाबी गर्नुभएको छ ।

बदलिँदो विश्व राजनीतिक परिवेशको चर्चा गर्दै खनालले पुरानो पश्चिमा प्रभुत्वको विश्व व्यवस्था ढल्दै गरेको र नयाँ न्यायपूर्ण व्यवस्था उदय भइरहेको संक्रमणकालीन समयमा नेपालले थप चुनौती बेहोर्नुपरेको उल्लेख गर्नुभएको छ । उहाँका अनुसार देश यतिबेला गहिरो सामाजिक–आर्थिक संकट, बेरोजगारी र कुशासनको चक्रव्यूहमा फसेको छ। सन्देशमा उहाँले गत भदौमा भएको जेन्जी आन्दोलनका नाममा भएका तोडफोड र अराजकताले मुलुकको अस्थिरतालाई थप बल पुर्‍याएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ

वर्तमान सरकार र आगामी निर्वाचनको प्रसंग जोड्दै उहाँले निर्वाचनको घोषणा हुनु सकारात्मक भए पनि निष्पक्ष र धाँधलीरहित वातावरणका लागि अझै धेरै काम बाँकी रहेको औंल्याउनुभएको छ। संकटको यो घडीमा देशलाई जोगाउन र संविधानको रक्षा गर्दै आर्थिक–सामाजिक रूपान्तरण गर्न व्यापक राष्ट्रिय एकताको विकल्प नभएको खनालको ठम्याइ छ । उहाँले १७ वटा विभिन्न वाम घटकहरू मिलेर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी दिँदै सम्पूर्ण कम्युनिष्ट, प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा उभिन आह्वान गर्नुभएको छ ।

भ्रष्टाचार नियन्त्रण, युवा रोजगारी र असंलग्न परराष्ट्र नीतिको सुदृढीकरणका लागि नयाँ वर्ष २०२६ लाई एकता र परिवर्तनको वर्ष बनाउनुपर्नेमा खनालले विशेष जोड दिनुभएको छ ।


सम्बन्धित समाचार