१७ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक खिचातानीले नयाँ मोड लिएको छ।
पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्वलाई निर्णायक दबाब दिने उद्देश्यले आगामी पुस २७ र २८ गतेका लागि काठमाडौँको भृकुटीमण्डपस्थित हल बुक गरेर विशेष महाधिवेशनको औपचारिक तयारी थाल्नुभएको छ ।
बिहीबार बिहान महाराजगञ्जस्थित एक होटलमा भएको महामन्त्रीद्वयको गोप्य छलफलपछि विशेष महाधिवेशन पक्षधर युवा नेताहरूलाई हल बुकिङका लागि निर्देशन दिइएको हो। पार्टीले नियमित महाधिवेशनको कार्यतालिका पालना गर्न नसकेको अवस्थामा विधानतः बाध्यकारी बनेको विशेष महाधिवेशन नै अबको एक मात्र विकल्प भएको निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको देखिन्छ ।
विशेष महाधिवेशनको माग गर्दै यसअघि नै युवा नेता गुरुराज घिमिरेको नेतृत्वमा २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापतिलाई बुझाइसकिएको छ । विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था भए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको भन्दै महामन्त्री थापाले पुस मसान्तभित्रै महाधिवेशन आह्वान गर्ने घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चका रूपमा विशेष अधिवेशन अनिवार्य रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता र आत्मविश्वासका लागि यो मार्ग रोजिएको बताउनुभएको छ ।
यसैबीच, महाधिवेशनको कार्यतालिका मिचिएको र बढ्दो आन्तरिक विवादबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले बिहीबार साँझ महामन्त्रीद्वयलाई आफ्नो निवासमा बोलाउनुभएको छ । सभापतिसँगको भेटमा महामन्त्रीद्वयले आफूहरू विशेष महाधिवेशनको मार्गमा अगाडि बढिसकेको जानकारी गराउँदै देउवालाई सभापतित्व ग्रहण गरिदिन लिखित पत्र नै बुझाउने तयारी गर्नुभएको छ ।
पुस १६ गतेदेखि सुरु हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यताको विवादका कारण रोकिएपछि उत्पन्न यो संवैधानिक संकटले कांग्रेसभित्रको सत्ता समीकरण र भविष्यको नेतृत्वलाई लिएर नयाँ बहस छेडिदिएको छ।















