Logo

१८ पौष, काठमाडौँ । नेपाली कांग्रेसभित्र चुलिएको महाधिवेशन विवादका बीच आज केन्द्रीय कार्यसम्पादन समितिको महत्त्वपूर्ण बैठक बस्दैछ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीका शीर्ष पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

बिहीबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै निर्धारित नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेपछि कांग्रेसभित्रको राजनीति तातिएको छ । महामन्त्रीद्वयले अबको एकमात्र संवैधानिक विकल्प ‘विशेष महाधिवेशन’ भएको दाबी गरेका छन् ।

उनीहरूले पार्टी विधानको दफा १७ (२) लाई मुख्य आधार बनाएका छन् । उक्त दफाअनुसार विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी भएको उनीहरूको तर्क छ । नियमित महाधिवेशनको अनिश्चितता चिर्न यो कदम बाध्यकारी भएको महामन्त्री पक्षको जिकिर छ ।

कांग्रेसभित्रको यो शक्ति सङ्घर्षको जड गत असोज २९ गते दर्ता भएको हस्ताक्षर हो । त्यतिबेला २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए ।

विशेष महाधिवेशन बोलाउने वा नबोलाउने भन्ने अन्तिम निर्णय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र छ । महामन्त्रीहरूले एकलौटी रूपमा मिति घोषणा गर्नु विधानविपरीत रहेको संस्थापन पक्षको तर्क छ । यता हस्ताक्षर बुझाएको तीन महिना बितिसक्दा पनि नेतृत्वले बेवास्ता गरेपछि विधानले दिएको अधिकार प्रयोग गर्दै विशेष महाधिवेशनको प्रक्रिया अघि बढाइएको महामन्त्री पक्षको तर्क छ ।

आजको बैठकमा के होला ?

आजको बैठकमा संस्थापन पक्षले महामन्त्रीहरूको कदमलाई ‘अनुशासनहीन’ ठहर गर्दै त्यसलाई बदर गर्ने तयारी गरेको बुझिएको छ । अर्कोतर्फ, महामन्त्रीद्वय र उनीहरू निकट नेताहरूले विशेष महाधिवेशनको औचित्य पुष्टि गर्ने रणनीति बनाएका छन् ।

क्रियाशील सदस्यताको विवाद र महाधिवेशनको कार्यतालिका जुधिरहेको अवस्थामा आजको बैठकले कांग्रेसलाई कि त एकताको सूत्रमा बाँध्नेछ, कि त आन्तरिक विभाजनको रेखालाई अझ गहिरो बनाउनेछ ।


सम्बन्धित समाचार