१८ पौष, वीरगञ्ज । बाक्लो हुस्सु र कुहिरोसँगै बढेको चिसोका कारण वीरगञ्ज लगायत पश्चिम तराईका जिल्लामा जनजीवन प्रभावित भएको छ । चिसो बढेसँगै विशेषगरी बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाय तथा ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
अत्यधिक चिसोका कारण स्थानीय बासिन्दा घरबाहिर निस्कन सकेका छैनन् । बिहान सबेरै खुल्ने पसल तथा बजारसमेत ढिलो गरी खुल्न थालेका छन् भने साँझपख चिसो अझ बढेपछि बजार क्षेत्रसमेत समयअगावै सुनसान हुन थालेका छन् ।
कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारी आवागमनमा समेत समस्या देखिएको छ । वीरगञ्ज-१६ निवासी सवारी चालक डिके जैसवालका अनुसार बिहान र बेलुका सडकमा दृश्यता कम हुँदा सवारी साधन चलाउन कठिनाइ भइरहेको छ ।
चिसोका कारण स्वास्थ्य समस्यासमेत बढ्दै गएका छन् । वीरगञ्ज स्थित नारायणी अस्पतालका फिजिसियन डा. निरज सिंहका अनुसार दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत चिसोसँग सम्बन्धित रोगका बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । “हिजोआज दैनिक १०० भन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी अस्पताल आउने गरेका छन्,” उनले बताए ।
स्वास्थ्यकर्मीहरूले अत्यधिक चिसोबाट बच्न न्यानो लुगा लगाउन, आगो ताप्दा सावधानी अपनाउन र बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न सुझाव दिएका छन् । स्थानीय प्रशासनले समेत चिसो बढिरहेका कारण सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।














