Logo

१८ पुष, काठमाडौं । भदौ अन्तिम साता मुलुकलाई नै तरंगित बनाएको ‘जेनजी प्रदर्शन’ र त्यस क्रममा भएका आगजनी तथा मानवीय क्षतिको छानबिन गरिरहेको उच्चस्तरीय आयोगले आफ्नो अनुसन्धानलाई राजनीतिक नेतृत्वतर्फ सोझ्याएको छ ।

न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई घटनाका सम्बन्धमा स्पष्ट पार्न लिखित प्रश्न पठाएको हो । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा यी दुवै शीर्ष नेताको निवासमा उच्छृङ्खल समूहले आगजनी गरेपछि उत्पन्न सुरक्षा चुनौती र प्रदर्शनकारीको मृत्युका विषयमा आयोगले उनीहरूसँग जवाफ मागेको हो ।

अनुसन्धानको यो दायरा यतिमै सीमित छैन । आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत प्रत्यक्ष बयानका लागि बोलाउने अन्तिम तयारी गरेको छ । आज साँझसम्म ओलीलाई उपस्थित हुन पत्राचार गरिने आयोग स्रोतले जनाएको छ। स्मरणीय छ, ओलीमाथि लगाइएको उपत्यका छाड्न नपाउने र विदेश भ्रमणको रोकलाई आयोगले अझै यथावत् राखेको छ, जबकि तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडीसहित ५ जनाको ‘स्थानहद’ भने फुकुवा गरिसकिएको छ ।

आयोगले सुरक्षा निकायका वर्तमान प्रमुखहरूसँग पनि घनीभूत छलफल र बयान लिने कार्य सम्पन्न गरिसकेको छ । प्रधान सेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले आयोगमा उपस्थित भई घटनाबारे बयान दिइसकेका छन् । यसका अतिरिक्त आन्दोलनका समयमा कमान्ड सम्हालेका प्रहरीका उच्च अधिकारीहरू, राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख र घटनास्थलका प्रत्यक्षदर्शीसहित १५० भन्दा बढी व्यक्तिहरूसँग आयोगले केरकार गरिसकेको छ ।

शान्तिपूर्ण भनिएको प्रदर्शन कसरी हिंसात्मक बन्यो र किशोरहरूको ज्यान जाने अवस्था कसरी सिर्जना भयो भन्ने सत्यतथ्य पत्ता लगाउन आयोगले मृतकका परिवारलाई समेत बुझेको छ । राजनीतिक नेतृत्व र सुरक्षा निकायका अधिकारीहरूको बयानले घटनाको भित्री पाटो खोल्ने अपेक्षा गरिएको छ । साढे तीन महिनाअघिको यो घटनाले नेपालको सुरक्षा संयन्त्र र राजनीतिक स्थिरतामाथि नै प्रश्न उठाएको थियो, जसको निरूपण अब आयोगको अन्तिम प्रतिवेदनमा निर्भर रहने देखिएको छ ।


सम्बन्धित समाचार