१८ पुष, काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि जनमत पार्टीले बुझाएको समानुपातिक उम्मेदवारहरूको बन्दसूचीमा रोचक दृश्य देखिएको छ ।
डा. सीके राउत नेतृत्वको यस पार्टीले बुझाएको ११० जनाको सूचीमा सबैभन्दा बढी ‘मण्डल’ थरका व्यक्तिहरू अटाएका छन् । निर्वाचन आयोगमा पुस १४ गते बुझाइएको उक्त सूचीमा १७ जना मण्डल थरका उम्मेदवार छन् भने त्यसपछि साह र सिंह थरको दबदबा देखिएको छ । पार्टीले क्लस्टर अनुसार मिलाएको नामावलीमा आदिवासी जनजाति समूहको महिलातर्फ मात्रै ६ जना मण्डल थरका उम्मेदवार छन् । जसमा अन्जली देवी, रेखा कुमारी, रेखा देवी, लक्ष्मी कुमारी, प्रेमशीला देवी र आशा देवी मण्डल रहेका छन् ।
सोही समूहको पुरुषतर्फ कृष्णचन्द्र, सुवोध कुमार, धिरज कुमार, बलराम, नथुनी, रावाबाबु, रबिन कुमार र महेश मण्डल गरी ८ जनाको नाम समावेश छ । यसैगरी, दलित कोटामा समेत अनिता कुमारी, रमेन कुमार र राजाराम मण्डल गरी ३ जना समेटिएका छन् । मण्डलपछि साह थरका १० जना र सिंह थरका ७ जनाले सूचीमा स्थान पाएका छन् ।
जनमतले मधेश केन्द्रित राजनीतिलाई थप बलियो बनाउन थारु समुदायबाट पनि ११ जनाको नाम सिफारिस गरेको छ, जसमा कोशिला थारु र दिलमाया कुमारी चौधरीलगायत रहेका छन् । फागुन २१ गते हुने मतदानका लागि आयोगले अहिले दलहरूले बुझाएको बन्दसूचीमाथि सुक्ष्म अध्ययन गरिरहेको छ ।
आयोगको कार्यतालिका अनुसार पुस २० गतेभित्र क्लस्टर मिले/नमिलेको जाँचबुझ गरी दलहरूलाई पत्राचार गरिनेछ। यदि कुनै क्लस्टरमा त्रुटि देखिएमा दलहरूले पुस २७ गतेसम्म नामावली संशोधन गर्ने अन्तिम अवसर पाउनेछन् । माघ ४ गते उम्मेदवारको बन्दसूची सार्वजनिक भएपछि मात्रै उनीहरूको योग्यतामाथि दाबी विरोधको प्रक्रिया सुरु हुनेछ । आफ्नै गढ मानिने क्षेत्रमा पकड जमाउन जनमतले समावेशी र जातीय सन्तुलन मिलाउन खोजे पनि एउटै थरको यति ठूलो सङ्ख्याले पार्टीभित्र र बाहिर नयाँ बहस सिर्जना गरेको छ ।















