१८ पुष, काठमाडौं । नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगनको संयुक्त घोषणा गरेपछि पार्टीभित्रको विवादले उग्र रूप लिएको छ ।
यसै विषयमा ठोस निर्णय लिन आज दिउँसो ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बस्दैछ । तर, उक्त मुख्य बैठकअघि नै संस्थापन र इतर पक्ष आ–आफ्नो शक्ति प्रदर्शन र रणनीति निर्माणमा जुटेका छन् । सभापति शेरबहादुर देउवा पक्षले कार्यसम्पादन समितिको बैठकअघि नै आफ्नो समूहको वृहत् छलफल डाकेको छ ।
ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा साढे १२ बजेका लागि बोलाइएको उक्त भेलालाई महामन्त्रीद्वयको कदमविरुद्ध मोर्चाबन्दीका रूपमा हेरिएको छ । सहमहामन्त्री महेन्द्र यादवले संस्थापन समूहका कार्यसम्पादन समिति सदस्यहरूबीच साझा धारणा बनाउन यो अनौपचारिक बैठक आह्वान गरिएको पुष्टि गरेका छन् । सभापति देउवा अहिले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र प्रवक्ता प्रकाशशरण महतसँगको संवादमा व्यस्त छन् ।
यता, महामन्त्रीद्वय थापा र शर्माले पनि विशेष महाधिवेशनको एजेन्डालाई निष्कर्षमा पुर्याउन आफ्ना पक्षका नेताहरूसँगको संवादलाई तीव्रता दिएका छन् । नियमित महाधिवेशनको प्रक्रिया अवरुद्ध भएको भन्दै उनीहरूले चालेको यो कदमलाई देउवा पक्षले भने ‘विद्रोही’ शैलीका रूपमा व्याख्या गरेको छ । सभापति देउवाले त विशेष महाधिवेशनको बाटो रोजिए पार्टी नै विभाजित हुन सक्ने भन्दै गम्भीर चेतावनी समेत दिएका छन् । उनले आफू निकट नेताहरूलाई सम्झाउँदै पार्टीलाई फुटबाट जोगाउन हदैसम्मको प्रयत्न गर्न निर्देशन दिएका छन् ।
पार्टीभित्रको यो शक्ति सङ्घर्षले कांग्रेसलाई वैधानिक संकटतर्फ धकेल्ने जोखिम बढाएको छ । एकातिर महामन्त्रीहरूको ‘विशेष महाधिवेशन’को ढिपी र अर्कोतिर संस्थापन पक्षको सिद्धार्थ कटेज रणनीतिले सानेपाको आगामी बैठक निकै तनावपूर्ण हुने देखिएको छ । आजको बैठकले कांग्रेसलाई एकताको सूत्रमा बाँध्छ वा विभाजनको रेखा कोर्छ भन्ने कुराले नै आगामी राष्ट्रिय राजनीतिको दिशा तय गर्ने निश्चित छ ।















