१८ पुष, काठमाडौं । गुल्मीको मालिका गाउँपालिकामा शुक्रबार बिहान विद्यार्थी बोकेको विद्यालयको बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
राम्चेबाट विद्यार्थीहरू लिएर वनभोज (पिकनिक) का लागि मदाने गाउँपालिकाको पुर्कोटतर्फ जाँदै गरेको सिद्ध इङ्लिस बोर्डिङ स्कुलको लु प्र ०१–००१ ख ०३५५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ९ प ८१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक मालिका गाउँपालिका–६ मौवाका ३६ वर्षीय वसन्त अर्याल र उनकी ५६ वर्षीया भाउजू मनकला अर्यालको मृत्यु भएको छ । दुर्घटनालगत्तै गम्भीर अवस्थामा अस्पताल पुर्याइएका उनीहरूलाई गुल्मी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। परिवारकै सदस्य गुमाउनु परेपछि मौवा गाउँ यतिबेला स्तब्ध बनेको छ ।
दुर्घटनामा परी अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मृतक मनकलाका ६ वर्षीय नाति अनुभव गिरी र पैदल यात्री स्थानीय विद्यालयकी शिक्षिका लिलावती अर्याल रहेका छन् । घाइते बालक अनुभवको अवस्था चिन्ताजनक रहेकाले उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको छ भने शिक्षिका अर्यालको गुल्मी अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ । खुसीयाली मनाउन हिँडेका विद्यार्थीहरू चढेको बसले ठक्कर दिएर भएको यो हृदयविदारक घटनाले सडक सुरक्षा र चालकको लापरवाहीमाथि पुनः प्रश्न उठाएको छ ।















