१८ पुष, काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मागलाई लिएर संस्थापन र महामन्त्री पक्षबीच द्वन्द्व चुलिएका बेला महामन्त्री विश्वप्रकाश शर्माले पार्टी विभाजन नहुने दाबी गरेका छन् ।
शुक्रबार केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन पुगेका महामन्त्री शर्माले सञ्चारकर्मीहरूसँग कुरा गर्दै विधानसम्मत प्रक्रिया अपनाउँदा पार्टी एक ढिक्का रहने विश्वास दिलाएका हुन्। उनले पार्टी फुटको आशङ्का गरिरहेका देशभरका नेता तथा कार्यकर्ताहरूलाई ढुक्क रहन आग्रह गर्दै नेतृत्व परिवर्तनको मुद्दाले पार्टीलाई कमजोर नबनाउने तर्क गरे।
महामन्त्री शर्माले फागुन २१ गते हुने निर्वाचनअघि नै पार्टीमा नयाँ नीति र नेतृत्व चयन गरेर जानु लोकतान्त्रिक प्रक्रिया भएको बताए । ‘हामीले महाधिवेशनको मिति त तय गर्यौँ, तर मिति घोषणा गरेर मात्र केही गरिएन, काम शून्य रह्यो,’ शर्माले असन्तुष्टि पोख्दै भने। उनका अनुसार पार्टीलाई जीवन्त राख्न र आसन्न चुनावमा बलियो आत्मविश्वासका साथ जानका लागि अधिवेशन अपरिहार्य छ। नियमित महाधिवेशनको समय घर्कँदै जाँदा महामन्त्रीद्वय शर्मा र गगन थापाले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको एजेन्डालाई अघि बढाएका छन् ।
यद्यपि, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने तत्काल महाधिवेशन गर्ने मुडमा देखिएको छैन । निर्वाचनको मुखमा पार्टी अधिवेशन गर्दा आन्तरिक कलह बढ्ने र त्यसले चुनावी परिणाममा असर पार्ने संस्थापनको निष्कर्ष छ। महामन्त्रीहरू भने नयाँ जोश र नेतृत्व बिना निर्वाचनमा जाँदा झन् ठूलो क्षति हुने दाबी गरिरहेका छन् । सानेपामा जारी कार्यसम्पादन समितिको बैठकमा यी दुई धारबीचको टकरावले कस्तो रूप लिन्छ र कांग्रेसले निर्वाचन अघिको सङ्कट कसरी टार्छ भन्ने विषयलाई अहिले राजनीतिक वृत्तमा निकै चासोका साथ हेरिएको छ ।















