Logo

१९ पौष, वीरगञ्ज । पौष शुक्ल पूर्णिमाका अवसरमा आजदेखि नेपाली सनातन धर्मावलम्बीले एक महिने श्रीस्वस्थानी व्रत सुरु गरेका छन् । पञ्चाङ्गअनुसार शनिबार २३ घडी १६ पला अर्थात् अपराह्न ४ बजेर १५ मिनेटसम्म पूर्णिमा रहेको छ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी परमेश्वरीको व्रत बस्ने परम्परा रहिआएको छ । विधिपूर्वक व्रत बस्ने श्रद्धालुले प्रत्येक दिन स्नान गरी मध्याह्नमा महादेव र स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्ने तथा स्वस्थानी व्रतकथाको श्रवण गर्ने परम्परा छ ।

व्रतको अन्तिम दिन माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजा गरी अक्षता, फलफूल, नैवेद्य, जनै, पान सुपारीलगायत सामग्री १०८ को संख्यामा चढाउने चलन छ । यसरी श्रद्धापूर्वक व्रत गर्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

श्रीस्वस्थानी व्रतको अवधिमा पाशुपत क्षेत्रअन्तर्गत गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर श्रद्धालुका प्रमुख गन्तव्य बन्छन् । यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत तीर्थस्थलमा व्रतालुको विशेष घुइँचो लाग्ने गर्दछ । यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा पनि उल्लेख गरिएको छ ।

विधिपूर्वक व्रत बस्न नसक्नेले पनि बिहान वा साँझ स्वस्थानी व्रतकथाको वाचन तथा श्रवण गर्ने प्रचलन छ । स्वस्थानीको महिमा वर्णन गरिएको ३१ अध्यायको कथा नेपाली भाषामा सर्वसुलभ छ । यस कथाको मूल रूप पुराणबाट नेवारी भाषामा रचना भई पछि नेपाली भाषामा अनुवाद गरिएको मानिन्छ ।

स्वस्थानी व्रतकथाअनुसार सत्ययुगमा पार्वतीले भगवान् विष्णुको उपदेशअनुसार स्वस्थानी व्रत गरी महादेवलाई पति रूपमा प्राप्त गरेको उल्लेख छ । गोमा, चन्द्रावतीलगायत पात्रले पनि स्वस्थानी व्रतबाट इच्छाअनुसारको वरदान पाएको प्रसंग कथामा समावेश छ ।


सम्बन्धित समाचार