Logo

१९ पौष, वीरगञ्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्ज शाखाले यस वर्षदेखि सुरु गरेको ‘टोकन प्रणाली’ धान खरिदमा प्रभावकारी देखिएको छ । गत पुस ६ गतेदेखि धान खरिद सुरु गरेको कम्पनीले शुक्रबारसम्म ३ हजार ७ सय ५४ क्विन्टल धान खरिद गरिसकेको छ ।

विगतका वर्षहरूमा धान बिक्रीका लागि किसानहरूको ठुलो भिड लाग्ने र अस्तव्यस्त हुने समस्यालाई मध्यनजर गर्दै यस वर्षदेखि टोकन प्रणाली लागू गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्ज शाखाका  प्रमुख पंकज कुमार झाले बताए । कार्यालयले गत पुस १ देखि ५ गतेसम्म १७० वटा टोकन वितरण गरेको थियो ।

प्रतिव्यक्ति ४० क्विन्टलका दरले टोकन वितरण गरिएको शाखा प्रमुख झाले जानकारी दिए । “किसानले आफ्नो पालो परेको दिन मात्र धान ल्याउने गरेकाले यसपटक भीडभाड छैन, खरिद प्रक्रिया निकै व्यवस्थित भएको छ,” झाले भने । टोकन पाएका किसान नआएमा प्रतीक्षा सूचीमा रहेका अन्य किसानबाट धान खरिद गरिने व्यवस्था मिलाइएको छ ।

यस वर्ष वीरगञ्ज शाखालाई १० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य छ । हालसम्म पर्सा, बारा र रौतहटबाट किसानहरू धान बिक्रीका लागि आइरहेका छन् भने सर्लाहीका किसानले पनि टोकन लगेका छन् । माघ ४ गतेसम्ममा लक्ष्यअनुसारको सबै धान खरिद गरिसक्ने योजना कार्यालयको छ ।

शाखा प्रमुख झाका अनुसार “गत वर्ष ४२ हजार क्विन्टलको कोटा भए पनि निजी क्षेत्र (व्यापारी) ले राम्रो मूल्य दिएका कारण किसानहरू सरकारी डिपोमा आएका थिएनन् । तर यस वर्ष व्यापारीहरूले मूल्य नबढाउँदै खाद्य कम्पनीले खरिद सुरु गरेपछि किसानहरू उत्साहित भएर आएका छन् ।”

सङ्घीय सरकारले तोकेको प्रतिक्विन्टल ३ हजार ६ सय २८ रुपैयाँ ३३ पैसाको समर्थन मूल्यमा शाखाले सोना मन्सुली धान खरिद गरिरहेको छ । नयाँ प्रणालीले किसानहरूलाई घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यताबाट मुक्ति दिएको छ भने कार्यालयलाई पनि तथ्याङ्क व्यवस्थापनमा सहज भएको छ ।


सम्बन्धित समाचार