Logo

१९ पौष, बारा । सीमावर्ती क्षेत्रमा सक्रिय तस्कर समूहले प्रहरी अधिकृतकै हातबाट सरकारी पेस्तोल खोसेर फरार भएको सनसनीपूर्ण तथ्य फेला परेको छ । बाराको इलाका प्रहरी कार्यालय कबहीगोठका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रको साथमा रहेको पेस्तोल तस्करहरूले लुटेका हुन् ।

सुरक्षा संवेदनशीलतासँग जोडिएको यो घटनालाई प्रहरी सङ्गठनले एक सातासम्म गुपचुप राखेको पाइएको छ ।

स्रोतका अनुसार गत पुस ११ गते शुक्रबार साँझ तस्करी नियन्त्रणका लागि गस्तीमा खटिएका बेला सई मिश्रले तस्कर समूहलाई रोक्न खोजेका थिए । उनले तस्करतर्फ ‘नाइन एमएम’ को चिनियाँ पेस्तोल ताक्नेबित्तिकै तस्करहरूले उल्टै आक्रमण गरी उनको हातबाट हतियार लिएर फरार भएका थिए । उक्त पेस्तोलमा सात राउन्ड गोली समेत रहेको बताइएको छ ।

पुस ११ गतेको घटना भए पनि बिहीबार (पुस १७ गते) मात्रै यो विषय सार्वजनिक भएको हो । घटना भएको एक साता बितिसक्दा पनि न त लुटिएको हतियार फेला परेको छ, न त दोषी पक्राउ परेका छन् । तस्करहरू प्रहरीकै हतियार बोकेर खुला रूपमा हिँडिरहेको आशङ्काले सीमा क्षेत्रमा सुरक्षा चुनौती थपिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले सुरुमा घटनाबारे अनभिज्ञता प्रकट गरे पनि पछि हतियार हराएको पुष्टि गर्दै छानबिन सुरु गरिएको बताएका छन् ।

घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले एसपी भेषराज रिजालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । स्रोतका अनुसार सई मिश्र कार्यक्षेत्रमा कमजोर देखिएको र उनलाई समयमै प्रतिस्थापन नगर्दा यस्तो घटना भएको आरोप लागेको छ। अहिले सई मिश्रलाई कारबाहीको तयारी समेत गरिएको प्रहरी अधिकृतहरूले बताएका छन् ।

प्रहरीकै सुरक्षामा रहेको हतियार तस्करले खोसेर लैजानुले सीमा सुरक्षा र प्रहरीको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ। “प्रहरी आफैँ असुरक्षित भएपछि सर्वसाधारणले कसरी सुरक्षाको महसुस गर्ने ?” स्थानीयले प्रश्न गरेका छन् ।

प्रहरीले अहिले हराएको हतियार र तस्कर समूहको खोजीका लागि सर्च अपरेसन तीव्र पारेको दाबी गरेको छ ।


सम्बन्धित समाचार