२० पुष, काडमाठौं । अमेरिकी विशेष दस्ताले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने क्रममा गरेको सैन्य आक्रमणमा परी कम्तीमा ४० जनाको ज्यान गएको तथ्य सार्वजनिक भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै मानवीय क्षति नभएको दाबी गरिरहँदा न्युयोर्क टाइम्सले आइतबार प्रकाशित गरेको विस्तृत रिपोर्टमा सर्वसाधारण र भेनेजुएलाका सैनिकसहित ४० जनाको मृत्यु भएको उल्लेख गरिएको हो । मादुरोलाई अपहरण गर्ने उद्देश्यले गरिएको यो अपरेसनका क्रममा व्यापक हवाई र स्थल आक्रमण गरिएको थियो ।
यो अपरेसनको रणनीतिबारे थप विवरण दिँदै अमेरिकी अधिकारीहरूले बताएका छन् कि भेनेजुएलाको हवाई प्रतिरक्षा प्रणालीलाई ध्वस्त पार्न १५० भन्दा बढी अमेरिकी युद्धक विमानहरू परिचालन गरिएको थियो। हवाई मार्गबाट प्रतिरक्षा प्रणाली निष्क्रिय बनाएपछि मात्र सैन्य हेलिकोप्टरमार्फत विशेष दस्तालाई मादुरोको निवासमा उतारिएको थियो । यद्यपि, ह्वाइट हाउस र पेन्टागनले मृतकको यकिन सङ्ख्याबारे आधिकारिक पुष्टि गर्न बाँकी नै छ। हाल मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस न्युयोर्कमा हिरासतमा रहेका छन्, जहाँ उनीहरूमाथि कोकिन तस्करी लगायतका गम्भीर आपराधिक अभियोगहरू लगाइएको छ ।
राष्ट्रपति ट्रम्पले भेनेजुएलामा सुरक्षित र विवेकपूर्णु सत्ता हस्तान्तरण नभएसम्म अमेरिकी प्रशासनले त्यहाँको मामिला हेर्ने घोषणा गरे पनि यस कदमको चौतर्फी आलोचना सुरु भएको छ । आलोचकहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको खुल्ला उल्लंघन र सार्वभौम मुलुकमाथिको नाङ्गो हस्तक्षेप भनेका छन् । अमेरिकी कंग्रेसलाई समेत जानकारी नदिई गरिएको यो अचानकको आक्रमणले ल्याटिन अमेरिकी क्षेत्रमा गम्भीर अस्थिरता निम्त्याउन सक्ने भन्दै विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।
हाल उपराष्ट्रपति डेल्सी रोड्रिगेजले कार्यवाहक राष्ट्रपतिको रूपमा कार्यभार सम्हाले पनि भेनेजुएलाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ।















