२१ पौष, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । नेपाली समाज भारतले आयोजना गर्न लागेको ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन उनी आईतबार साँझ नयाँ दिल्ली पुगेको उनको सचिवालयले जनाएको छ ।
सोमबार आयोजना हुने उक्त कार्यक्रममा संयोजक दाहाल सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली समाज भारतका महासचिव आरबी खड्काका अनुसार भारतमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धता मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
सचिवालयका अनुसार कार्यक्रमका क्रममा संयोजक दाहालले प्रवासी नेपाली समुदायका साझा सरोकार, नेपाल भारत सम्बन्ध, भारतमा रहेका नेपालीका समस्या र अवसरका विषयमा आफ्नो धारणा राख्नेछन् । साथै, एकता, सहकार्य र समसामयिक राजनीतिक विषयमा सन्देश दिने कार्यक्रम पनि तय भएको छ ।
भारतमा रहेका नेपाली समुदायको भूमिकालाई नेपाल भारत सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण मानिँदै आएको सन्दर्भमा आयोजना गरिएको यो कार्यक्रमलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
संयोजक दाहाल कार्यक्रम सम्पन्न गरी सोमबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको सचिवालयले जानकारी दिएको छ ।















