२१ पौष, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा आइतबार साँझ टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको छ भने दुई जनाको पहिचान हुन बाँकी रहेको छ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना।१ ज १७७८ नम्बरको टाटा सुमो सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको थियो। दुर्घटनामा परी हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, हेटौँडा–२ कान्तिराजपथका २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराईका करिब ५० वर्षीय अरबिन्द कुमार र भारत बिहार राज्य पटना घर भएका ४२ वर्षीय रजनीस कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जना पुरुषको पहिचान खुल्न बाँकी छ। प्रहरीका अनुसार ती मृतकहरूको उमेर अन्दाजी ३६ र ४० वर्षको आसपास रहेको अनुमान गरिएको छ।
दुर्घटनामा घाइते भएकामध्ये सुमो चालक गणेश थापा र १२ वर्षीय अभ्यास लम्सालको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ। त्यस्तै, २१ वर्षीया रिचा चौधरीको अवस्था मध्यम रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको कमाण्डमा ट्राफिक प्रहरीसहित १० जनाको टोली घटनास्थलमा खटिएको थियो। प्रहरी र स्थानीयवासीको सहयोगमा सुमोमा सवार ९ जनाको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो।
हेटौँडा अस्पतालमा उपचारका क्रममा चिकित्सकले ६ जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनाको जानकारी पाएलगत्तै मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा समेत घटनास्थल तथा अस्पताल पुगेका थिए।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो पनि :
भीमफेदी-कुलेखानी सडक खण्डमा सुमो दुर्घटना, ६ जनाको मृत्यु















