Logo

२१ पौष, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह, उज्यालो नेपाल पार्टी तथा अन्य विभिन्न समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापन पूरा भएपछि रास्वपाले औपचारिक रूपमा एकता घोषणा गर्न लागेको हो।

रास्वपाले जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा सभा आयोजना गरिनेछ। उक्त सभामार्फत पार्टीभित्रको एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट सन्देश दिइने जनाइएको छ।

पुस १३ र १४ गते बसेको बैठकबाट रास्वपाले काठमाडौं महानगरका प्रमुख बालेन साह तथा कुलमान घिसिङको संरक्षकत्वमा रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। सो सहमतिअनुसार संगठनात्मक तथा व्यवस्थापकीय प्रक्रिया टुंग्याएर आज औपचारिक घोषणा गर्न लागिएको पार्टीले जनाएको छ।

यसैबीच, आइतबार बसेको रास्वपा केन्द्रीय समिति बैठकले एकतामार्फत पार्टीमा आएका नेता–कार्यकर्तालाई समेट्दै पदाधिकारी थपसहित केन्द्रीय समितिमा मनोनयन गर्ने निर्णय गरेको छ। बैठकले पार्टी संगठनलाई अझ सबल र समावेशी बनाउने लक्ष्यसहित आवश्यक संरचनात्मक व्यवस्था गरिएको जनाएको छ।

रास्वपाले बृहत्तर एकता घोषणासभालाई नयाँ राजनीतिक यात्राको महत्वपूर्ण मोडका रूपमा लिएको छ। पार्टीका अनुसार आजको सभाले वैकल्पिक राजनीतिको एजेन्डालाई थप मजबुत बनाउँदै आगामी निर्वाचन तथा राष्ट्रिय राजनीतिमा स्पष्ट दिशानिर्देश प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै