Logo

२१ पौष, काठमाडौँ । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटनाहरू बढ्दै गएको भन्दै लण्डनस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई सचेत रहन आग्रह गरेको छ। दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक (स्पोन्सर) खोजिदिने भन्दै ठगीमा पारिएको गुनासो बढ्दै गएको जनाएको हो ।

दूतावासका अनुसार ठगीमा परेको गुनासो गर्नेहरूमध्ये ठूलो संख्या नेपालबाट बेलायत जान चाहने नेपालीहरूको छ । साथै, बेलायतमै रहेका तर रोजगारीको खोजीमा रहेका केही नेपालीसमेत यस्ता ठगीको सिकार भएको पाइएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार ठगी गर्नेहरूमा कतिपय नेपाली मूलका व्यक्तिहरू नै संलग्न रहेको बुझिएको छ। चिनेजानेकै नेपालीमार्फत तेस्रो मुलुकका व्यक्तिसँग सम्पर्क गराइदिने बहानामा रकम असुली गरी ठगी गरिएको गुनासो पनि आएको दूतावासले जनाएको छ ।

दूतावासले यस्ता ठगीका गतिविधि नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय अपराध भएको स्पष्ट पार्दै समस्या परेको खण्डमा नेपालका सम्बन्धित अनुसन्धान निकाय तथा बेलायतमा स्थानीय प्रहरी र नेशनल एण्टी–फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न सुझाव दिएको छ ।

बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आएका पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताएका छन्। समस्यामा परेका नेपालीलाई दूतावासको आधिकारिक इमेल वा +४४-७४०४९३९२७४ नम्बरमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ।

यसअघि वैदेशिक रोजगार विभागले पनि वैदेशिक रोजगारीका नाममा ठगी बढेको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरिसकेको छ।


सम्बन्धित समाचार
भर्खरै