२१ पौष, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिलाई ज्यान मार्ने धम्की दिएको आरोपमा इन्टरपोलको सहयोगमा पक्राउ परेका प्रकाश पाठकलाई नेपाल ल्याउने तयारी थालिएको छ । नेपाल प्रहरीका अनुसार पाठकलाई स्वदेश फर्काउन प्रहरी टोली फिलिपिन्स जाने भएको छ।
काभ्रे स्थायी घर भएका पाठकले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो तथा अडियो सन्देश सार्वजनिक गर्दै अख्तियार प्रमुख राईसहित १० जनालाई धम्की दिएका थिए । ती धम्कीका आधारमा नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो, जसपछि पाठक फिलिपिन्समा पक्राउ परेका हुन् ।
प्रहरी स्रोतका अनुसार पाठक भारत र इन्डोनेशिया हुँदै फिलिपिन्स पुगेको खुलेको छ। आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्दै आएका पाठकलाई लिन नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना प्रहरी निरीक्षक फिलिपिन्स जाने निर्णय भएको छ ।
इन्टरपोलको फिलिपिन्स शाखा तथा त्यहाँको अध्यागमन विभागले आवश्यक कानुनी र कार्यविधिगत प्रक्रिया पूरा गरेपछि नेपाल प्रहरीलाई औपचारिक जानकारी गराइने एक उच्च प्रहरी अधिकृतले बताएका छन् । ‘कार्यविधिगत प्रक्रिया पूरा भएपछि सूचना आउँछ, त्यसपछि हाम्रो टोली फिलिपिन्स जानेछ,’ ती अधिकृतले बताएका छन् ।
पाठकले सामाजिक सञ्जालमार्फत पूर्वअख्तियार प्रमुख लोकमानसिंह कार्की, गोपालबहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईंलाई ज्यान मार्ने धम्की दिएको प्रहरीको भनाइ छ ।
यस घटनापछि मङ्सिर १७ गते उपत्यका प्रहरी कार्यालयले धम्की प्राप्त व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी कडा बनाउँदै सर्कुलर जारी गरेको थियो । साथै, पाठकसँग ‘कनेक्सन’ रहेको आशंकामा यसअघि तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा धादिङका शरणजंग शाही, सर्लाहीका तोरण थापा मगर र बर्दियाका धीरेन्द्र सुनार रहेका छन् ।
नेपाल प्रहरीले पाठकलाई स्वदेश ल्याएपछि संगठित अपराध, धम्की तथा विद्युतीय माध्यममार्फत अपराध गरेको आरोपमा थप अनुसन्धान अघि बढाउने जनाएको छ ।















