२३ पुष, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा सत्ता समीकरणभित्र सिट बाँडफाँटको विषय पेचिलो बनेको छ ।
नेपाली कांग्रेस र नेकपा (एमाले) ले अन्य साना दललाई समेट्ने प्रयास गरिरहेका बेला नेकपाले भने सम्मानजनक सिट नपाए चुनावी मैदानमा एक्लै उत्रिने कठोर निर्णय लिएको छ ।
विशेषगरी कांग्रेस र एमालेले नेकपालाई ३ सिट मात्र दिने गरी प्रस्ताव अघि सारेका थिए । तर, नेकपाले भने आफ्नो वर्तमान मतभारका आधारमा कम्तीमा ४ सिट पाउनुपर्ने अडान राखेको छ । सिट संख्यामा कुरा नमिलेपछि मंगलबार बसेको पार्टीको परामर्श बैठकले सम्झौता गरेर खुम्चिनुभन्दा आफ्नै अस्तित्व रक्षाका लागि एक्लै लड्नु श्रेयष्कर हुने निष्कर्ष निकालेको हो ।
नेकपाका प्रभावशाली नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीले आफ्नो शक्ति र प्रभावका आधारमा ४ सिटको दाबी गरेको हो । यता, अर्का नेता प्रकाश ज्वालाले पनि सत्तापक्षीय ठूला दलहरूसँगको तालमेलले कार्यकर्ता पंक्तिमा समेत राम्रो सन्देश नगएको बताएका छन् । पार्टीभित्रैबाट ‘एक्लै चुनावमा जानुपर्ने’ दबाब बढिरहेको सन्दर्भमा नेतृत्वले उक्त अडान लिएको हो । ठूला दलले आफूहरूलाई कम आँकेको महसुस गर्दै नेकपाले अबको निर्वाचनलाई आफ्नो शक्ति परीक्षणको माध्यम बनाउन सक्ने देखिएको छ ।
कांग्रेस र एमालेले नेकपाको यो चेतावनीलाई कसरी लिन्छन् र अन्तिम समयमा सिट संख्यामा हेरफेर हुन्छ या हुँदैन भन्ने विषयले राष्ट्रिय सभाको आगामी समीकरण तय गर्ने निश्चित छ।















