२३ पुष, काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले) ले आफ्ना उम्मेदवारहरूको नाम टुंगो लगाएको छ । नेपाली कांग्रेस, नेकपा र जसपा नेपालसँगको तालमेलका आधारमा एमालेले आफ्नो भागमा परेका ७ सिटमध्ये ६ जनाको नाम सार्वजनिक गरेको हो ।
एमालेले यसपटक पुराना र स्थापित नेताहरूका साथै पार्टीमा भर्खरै फर्किएका अनुहारलाई पनि प्राथमिकता दिएको छ । पार्टीले बागमती प्रदेशबाट डा। प्रेमकुमार दङ्गाल र लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। झाँक्री नेकपा (एकीकृत समाजवादी) बाट एमालेमा फर्किए लगत्तै राष्ट्रिय सभाको टिकट पाउन सफल भएकी हुन् ।
त्यसैगरी, कोशी प्रदेशबाट रोशनी मेचे, गण्डकीबाट सम्झना देवकोटा, कर्णालीबाट मीना रखाल र सुदूरपश्चिम प्रदेशबाट लीलाकुमारी भण्डारीलाई चुनावी मैदानमा उतारिएको छ । एमाले स्रोतका अनुसार मधेश प्रदेशका लागि भने उम्मेदवारको नाम तय हुन बाँकी छ र त्यसको टुंगो आजै लगाइनेछ।
आजै राष्ट्रिय सभाका उम्मेदवारहरूको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । ठूला दलहरूबीचको सिट भागबण्डामा एमालेले ७, कांग्रेसले ७, नेकपाले ३ र जसपाले १ सिट पाउने प्रारम्भिक समझदारी भए पनि नेकपाले भने थप १ सिट दाबी गर्दै असन्तुष्टि जनाइरहेको छ ।















