२५ पुष, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सामाजिक संस्कारको विकास बिना आर्थिक समृद्धि सम्भव नहुने स्पष्ट पार्नुभएको छ। वीरगञ्जमा आज सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगञ्ज–एक विराट सम्भावना’ विषयक बृहत् अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले मानसिकताको परिवर्तन नगरी दिगो आर्थिक विकास हासिल गर्न नसकिने बताउनुभयो।
मेयर सिंहले समाजमा मौलाउँदै गएको गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिँदै युवाहरू विशेषगरी लहैलहैमा लाग्ने प्रवृत्तिबाट सचेत हुनुपर्ने उल्लेख गर्नुभयो। “कसैको प्रभाव वा दबाबमा नपरी युवाहरू सकारात्मक, सिर्जनात्मक र उत्पादनमुखी कार्यमा अग्रसर हुनुपर्छ,” उहाँले भन्नुभयो।
वैभवशाली वीरगञ्ज निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले संघीय सरकारले वीरगञ्जलाई उपेक्षा गरेको आरोपसमेत लगाउनुभयो। देशभर आपूर्ति हुने अधिकांश सामान वीरगञ्ज हुँदै जाने भए पनि शहरलाई केवल ढुवानी मार्गका रूपमा सीमित गरिँदा यहाँका नागरिकले धुलो–धुवाँ सहनुपरेको र अपेक्षित सुविधा नपाएकोप्रति उहाँले असन्तोष व्यक्त गर्नुभयो।
कार्यक्रममा मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको धारणा राख्नुभयो। अब जागिर खोज्ने संस्कार होइन, रोजगारी सिर्जना गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुतमार्ग निर्माणपछि वीरगञ्जको तीव्र विकास हुने विश्वास व्यक्त गर्नुभयो। एकीकृत सुरक्षा जाँच चौकी (आईसीपी), सुख्खा बन्दरगाह (ड्राइपोर्ट) र वीरगञ्ज भन्सार कार्यालय जस्ता संरचना हुँदाहुँदै पनि त्यसको प्रत्यक्ष लाभ शहरले लिन नसकेको उहाँको भनाइ थियो।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकार निजी क्षेत्रमैत्री नहुँदा वीरगञ्जसँगै पर्सा र बारा जिल्लासमेत प्रभावित हुने गरी उद्योग–कलकारखाना धराशायी हुँदै गएको बताउनुभयो। तीनै तहका सरकारबाट लगाइने करको बोझका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्ज आफैंमा आर्थिक संस्कारयुक्त शहर भए पनि पछिल्लो समय अतिवाद बढ्दै गएको टिप्पणी गर्नुभयो। वीरगञ्जको पहिचान जोगाउन यहाँ रहेका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवर्द्धन आवश्यक रहेको उहाँले बताउनुभयो।
कार्यक्रम आयोजक पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगञ्जको दिगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यबाट मात्र वीरगञ्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने धारणा राख्नुभयो।
अन्तरक्रियामा उद्योगी अशोक वैद्य, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा। निरज कुमार सिंह, रेडियो वीरगञ्जका कार्यकारी अध्यक्ष ध्रुव साह, अर्थविद् डा। दिपेन्द्र कुमार चौधरी, नेपाल राष्ट्र बैंक वीरगञ्जका निर्देशक सुशिल पौडेल, पर्सा जिल्ला अदालत बार एसोसिएशनका अध्यक्ष रामनारायण कुर्मी लगायतले आ–आफ्नो धारणा राखेका थिए।
अन्तरक्रियामा सहभागीहरूले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताका क्षेत्रमा बाहिरिने रकम स्वदेशमै खर्चिने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए।















