३ माघ, काठमाडौँ । देशकै मुख्य भन्सार नाकाका रूपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ६ महिनामा १ खर्ब १६ अर्ब ५८ करोड ८५ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
अर्थ मन्त्रालय भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) लाई पुस मसान्तसम्म ६ महिनाको अवधिमा १ खर्ब ३२ अर्ब ५६ करोड ३५ लाख १६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो। तर सो अवधिमा विभिन्न आन्दोलन, वर्षायामका कारण भन्सार गतिविधि प्रभावित हुनुका साथै मालसामानको आयातमा कमी आएपछि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) का प्रमुख भन्सार प्रशासक विष्णु प्रसाद ज्ञाबलीले जानकारी दिए।
उनका अनुसार आईसीपी वीरगञ्जले तोकिएको लक्ष्यभन्दा करिब १३ प्रतिशत कम राजस्व असुली गरेको हो। अर्थ मन्त्रालयले तोकेको लक्ष्यको तुलनामा ६ महिनामा १५ अर्ब ९७ करोड ४९ लाख ५३ हजार रुपैयाँ कम राजस्व संकलन भएको भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
देशकै दुई ठूला भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालय र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालय गाभिएपछि आईसीपी वीरगञ्जले ६ महिनाको अवधिमा सो परिमाणमा राजस्व संकलन गर्न सकेको प्रमुख भन्सार प्रशासक ज्ञाबलीले बताए।
पेट्रोलियम पदार्थको आयातमा कमी, वर्षायाम र डुबानका कारण राजस्व असुली लक्ष्य भेट्टाउन नसकिएको जनाउँदै ज्ञाबलीले भने, “यद्यपि गत आर्थिक वर्षको समान अवधिको तुलनामा चालु आर्थिक वर्षमा राजस्व संकलन भने वृद्धि भएको छ।”
गत आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनामा वीरगञ्ज भन्सारले १ खर्ब ३ अर्ब ४२ करोड २ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। सो अवधिमा भन्सार विभागले १ खर्ब ३१ अर्ब ७२ करोड ६३ लाख २७ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो। चालु आर्थिक वर्षको ६ महिनामा गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब १६ करोड ८१ लाख ८१ हजार रुपैयाँ बढी राजस्व संकलन गर्न भन्सार सफल भएको छ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि अर्थ मन्त्रालयले वीरगञ्ज भन्सारलाई कुल २ खर्ब ७३ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको छ।
यता, चालु आर्थिक वर्षको मंसिर महिनामा मात्र भन्सार विभागले वीरगञ्ज भन्सार कार्यालय (आईसीपी) लाई २१ अर्ब ९९ करोड ४६ लाख ४९ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य दिएको थियो। सो महिनामा २० अर्ब २० करोड ९ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन भएको प्रमुख भन्सार प्रशासक ज्ञाबलीले जानकारी दिए। मंसिर महिनामा वीरगञ्ज भन्सारले तोकिएको लक्ष्यको ९१ दशमलब ८७ प्रतिशत राजस्व असुली गरेको छ।















