Logo

फाईल फोटो

४ माघ, काठमाडौँ । राष्ट्रिय सभाको १९औँ अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ । बिहान ११ बजे बस्ने पहिलो बैठकसँगै अधिवेशनको औपचारिक प्रारम्भ हुन लागेको हो ।

नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक राष्ट्रियसभाको अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

अधिवेशनको तयारीस्वरूप राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । सचिवालयका अनुसार पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरिएको पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । साथै हालै दिवंगत भएका नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गरिनेछ ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा माघ ४ गते आइतबार बिहान ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रियसभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पनि तीव्र पारेको छ । आयोगका अनुसार १९ सदस्यका लागि हुने निर्वाचनमा एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीसमेत अघि बढिरहेको र राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउने सन्दर्भमा यो अधिवेशनलाई विशेष महत्त्वका साथ हेरिएको छ ।

आगामी दिनमा राष्ट्रियसभामा महत्त्वपूर्ण विधेयक, नीति तथा समसामयिक राष्ट्रिय मुद्दामाथि छलफल हुने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार