११ माघ, काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तरी छिमेकी राष्ट्र क्यानडालाई कडा चेतावनी दिँदै चीनसँग व्यापारिक सम्झौता गरेमा क्यानेडियाली उत्पादनमा १०० प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई सम्बोधन गर्दै चीनसँगको निकटता क्यानडाका लागि आत्मघाती हुने दाबी गरेका हुन् ।
“यदि प्रधानमन्त्री कार्नीले क्यानडालाई चिनियाँ सामान अमेरिका पठाउने ‘ड्रप अफ पोर्ट’ (ट्रान्जिट) बनाउन चाहनुहुन्छ भने उहाँ सरासर गलत हुनुहुन्छ,” ट्रम्पले लेखेका छन् । उनले चीनले क्यानडाको व्यवसाय र जीवनशैलीलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने दाबी गर्दै थपे, “चीनले क्यानडालाई एक वर्षभित्रै खाइदिनेछ। क्यानडाले चीनसँग सम्झौता गर्नासाथ वासिङ्टनले तुरुन्तै १०० प्रतिशत कर वृद्धि गर्नेछ।”
दुई देशबीचको तनाव, प्रधानमन्त्री कार्नीको हालैको चीन भ्रमणपछि सुरु भएको हो । उक्त भ्रमणमा क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडी (ईभी) मा लगाउँदै आएको १०० प्रतिशत करलाई ६.१ प्रतिशतमा झारेको छ । बदलामा चीनले क्यानेडियाली कृषि उत्पादनमा लगाउँदै आएको ८४ प्रतिशत करलाई १५ प्रतिशतमा झारेको छ । अमेरिकाले चिनियाँ उत्पादनमा कडा प्रतिबन्ध लगाइरहेका बेला क्यानडाको यो कदमले ट्रम्पलाई क्रुद्ध बनाएको हो ।
स्विट्जरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चमा कार्नीले “अमेरिकी नेतृत्वको विश्व व्यवस्था विखण्डन भएको” र शक्तिशाली राष्ट्रले सर्त लाद्ने गरेको टिप्पणी गरेपछि विवादले उग्र रूप लिएको थियो। जवाफमा ट्रम्पले क्यानडा अमेरिकाकै कारण अस्तित्वमा रहेको दाबी गरेका थिए। यसको प्रतिवाद गर्दै कार्नीले क्युबेकबाट राष्ट्रिय सम्बोधन गर्दै भने, “क्यानडा अमेरिकाका कारण बाँचेको होइन, साझेदारीमा फस्टाएको हो। हामी क्यानेडियाली हौँ र हाम्रो आफ्नै स्वाभिमान छ।”
व्यापारिक विवादका साथै कार्नीले ट्रम्पको १७५ अर्ब डलरको ‘गोल्डेन डोम’ मिसाइल डिफेन्स प्रोजेक्ट र ग्रीनल्याण्ड सम्बन्धी नीतिको पनि विरोध गर्दै आएका छन् । यसैका कारण ट्रम्पले कार्नीलाई ‘बोर्ड अफ पिस’ (शान्ति परिषद्) मा दिइएको निमन्त्रणा समेत फिर्ता लिएका छन् ।
क्यानडाले आफ्नो कुल निर्यातको ७५ प्रतिशत हिस्सा अमेरिका पठाउने गर्छ । यदि ट्रम्पले १०० प्रतिशत कर वृद्धिको चेतावनी कार्यान्वयन गरेमा क्यानडाको कार, आल्मुनियम र स्टिल उद्योग धराशयी हुने जोखिम छ । ट्रम्पले यसअघि क्यानडालाई ‘अमेरिकाको ५१ औँ राज्य’ बन्न गरेको प्रस्तावलाई कार्नीले “क्यानडा बिकाऊ छैन” भन्दै अस्वीकार गरिसकेका छन् ।
















