Logo

१३ माघ, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ उचाइ चुम्दै ऐतिहासिक रेकर्ड बनाउने क्रम मंगलबार पनि जारी राखेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले वृद्धि भएसँगै सुनको भाउ आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँ तोकिएको छ, जसले नेपाली सुन बजारको इतिहासमा फेरि एकपटक नयाँ रेकर्ड कायम गरेको छ ।

पछिल्ला केही दिनदेखि सुनको मूल्यमा देखिएको अस्वभाविक वृद्धिको शृङ्खला निकै रोचक बनेको छ । हिजो सोमबार मात्रै सुनको भाउ एकैदिन ५ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार रुपैयाँ पुगेको थियो । आइतबारको तुलनामा सोमबार भएको ठुलो वृद्धिको जगमा टेकेर मंगलबार पनि मूल्य उकालो लाग्ने क्रम नरोकिँदा यसले सर्वसाधारण र लगानीकर्ता दुवैलाई चकित तुल्याएको छ । अन्तर्राष्ट्रिय बजारमा देखिएको उत्तरचढावको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा परेको व्यवसायीहरूको विश्लेषण छ ।

सुनसँगै चाँदीको मूल्यमा पनि मंगलबार उल्लेख्य बढोत्तरी देखिएको छ। चाँदीको भाउ तोलामा १ सय ५ रुपैयाँले वृद्धि भई प्रतितोला ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी ६ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो भने आइतबार यसको मूल्य ६ हजार ४ सय ८० रुपैयाँ मात्रै थियो। लगातारको यो मूल्य वृद्धिले विवाहको सिजनमा रहेका उपभोक्ताहरूलाई मारमा पारेको छ भने बहुमूल्य धातुको बजारमा नयाँ तरंग पैदा गरिदिएको छ।


सम्बन्धित समाचार