Logo

१६ माघ, वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–२ का उम्मेदवार शुशील साह कानुले पर्सागढी नगरपालिका वडा नं.–१ स्थित कोईलाभार टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, बढ्दो बेरोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयलाई आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सारे। उनले परम्परागत राजनीतिक अभ्यासले जनताको अपेक्षा पूरा गर्न नसकेको उल्लेख गर्दै पारदर्शी शासन प्रणाली र जवाफदेही नेतृत्व आजको मुख्य आवश्यकता भएको बताए।

कार्यक्रममा सहभागी युवाहरूले रोजगारीको अभाव, वैदेशिक पलायन, गुणस्तरीय शिक्षा तथा उद्यमशीलतासम्बन्धी आफ्ना समस्या र चासोहरू राखेका थिए। त्यस अवसरमा उम्मेदवार कानुले युवाहरू नै परिवर्तनका मुख्य संवाहक भएको उल्लेख गर्दै नीति निर्माणदेखि कार्यान्वयनसम्म युवाको सक्रिय सहभागिता सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गरे।

घरदैलो कार्यक्रममा रास्वपाका पर्सागढी नगरस्तरीय नेताकार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी नेताहरूले पर्सा निर्वाचन क्षेत्र नं.–२ मा रास्वपाप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्ने धारणा व्यक्त गरे।

घरदैलो अभियानमार्फत मतदाता र नेताबीचको दूरी घट्दै गएको तथा स्थानीय स्तरमै राजनीतिक बहस र सहभागिता बढेको सहभागीहरूको भनाइ छ। रास्वपाले पर्सा क्षेत्रमा युवामैत्री, विकासमुखी र सुशासन केन्द्रित अभियानलाई अझ सशक्त बनाउँदै लैजाने जनाएको छ।


सम्बन्धित समाचार