Logo

१६ माघ, वीरगञ्ज । लामो समयदेखि वर्षाको पानी निकासको अभावले डुबानको सास्ती खेप्दै आएका वीरगन्ज महानगरपालिकाका १७, २४ र २६ नम्बर वडाका बासिन्दा राहत पाएका छन्। वर्षात्का बेला नियमित जलमग्न हुने यी वडामा हालै महानगरपालिकाले योजनाबद्ध रूपमा डुबान नियन्त्रणका उपाय लागू गरेको छ।

ती वडामा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनुका साथै पर्याप्त नाला र पाइपलाइनको अभावले सडक, घर आँगन र आवतजावत प्रभावित हुँदै आएको थियो। यसअघि समस्या समाधानका प्रयास भइरहेका थिए, तर स्थानीय स्तरमा समन्वय नहुँदा र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुन सकेको थिएन।

महानगरका मेयर राजेशमान सिंहले यसपालि विशेष पहल गर्दै प्रमुख जिल्ला अधिकारी, पर्सा प्रहरी प्रमुख र सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरेर अवरुद्ध निकास खोल्न पहल गरेका थिए। प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दुहरू पहिचान गरेपछि ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरेको थियो।

हाल जडान गरिएका नयाँ संरचनाका कारण वर्षौँदेखि जमेर बस्ने पानी सहजै बाहिर निस्कन थालेको छ। स्थानीय बासिन्दाले लामो समयदेखिको पीडा अन्त्य भएकोमा खुशी व्यक्त गर्दै अब वर्षायाममा ढुक्क बस्न सकिने विश्वास व्यक्त गरेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यस सफलतालाई शहरी व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भनेका छन्। उहाँका अनुसार महानगरले आगामी दिनमा अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी क्रमशः निकासको काम अघि बढाउनेछ। साथै, निर्माण भएका संरचनाहरूको नियमित अनुगमन, मर्मत र सरसफाइमा जोड दिँदै शहरी पूर्वाधारलाई थप सुदृढ बनाउने लक्ष्य लिएको छ।


सम्बन्धित समाचार