१६ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो नेतृत्वको सरकारले सुरु गरेको सुशासन र भ्रष्टाचार विरोधी निर्मम अभियानबाट त्रसित भएका शक्तिहरूले षड्यन्त्रपूर्वक आफूलाई सत्ताच्युत गरेको दाबी गरेका छन् ।
रुकुम पूर्व–काठमाडौँ सम्पर्क समन्वय समितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सामाजिक न्याय र समृद्धिको पक्षमा चालेका कदमहरू केही विशिष्ट वर्ग र तत्त्वका लागि टाउको दुखाइ बनेको उल्लेख गरे । आफूले प्रधानमन्त्रीका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउँदै सुशासनको नयाँ जग बसाल्न खोज्दा त्यसलाई रोक्न ठूला शक्तिहरू सक्रिय भएको जिकिर गर्दै उनले अधुरा रहेका ती सपना पूरा गर्न पुनः जनताकै शक्ति आवश्यक परेको प्रस्ट पारे ।
आगामी निर्वाचनमा रुकुम पूर्वलाई आफ्नो चुनावी मैदान बनाउने निर्णय केवल क्षेत्र परिवर्तन मात्र नभई एउटा ऐतिहासिक राजनीतिक सन्देश भएको प्रचण्डले बताएका छन्। जनयुद्धको केन्द्रीय आधार इलाका, चुनवाङ बैठकको विरासत र हुकाम–मैकोटको प्रतिरोधको जगलाई स्मरण गर्दै उनले रुकुम पूर्वलाई नेपालको समाजवादको ‘भ्रूण’ विकसित गर्ने थलोका रूपमा व्याख्या गरे । देश अहिले ‘जेनजी’ आन्दोलन र विभिन्नखाले राजनीतिक विध्वंसका कारण जटिल मोडमा रहेको बेला राष्ट्रलाई एकताबद्ध गर्न र आन्दोलनलाई नयाँ उचाइ दिन आफू आधार इलाका फर्कन लागेको उनको भनाइ छ।
प्रचण्डले आफू केवल भोट माग्न र चुनाव जित्न मात्र रुकुम जान नलागेको प्रस्ट्याउँदै त्यहाँ विकास, उत्पादन र रोजगारीको एउटा नमुना ‘मोडेल’ खडा गर्ने योजना सुनाए । स्थानीय जडीबुटी, पर्यटन, अर्ग्यानिक कृषि र आधुनिक भेडा पालनका माध्यमबाट हजारौँ युवालाई रोजगारी दिई आर्थिक क्रान्तिको सुरुवात गर्ने आफ्नो मुख्य एजेन्डा रहेको उनले उल्लेख गरे । तेस्रो पटक प्रधानमन्त्री हुँदा सहिदहरूलाई राष्ट्रिय सम्मान दिने र पीडित परिवारका लागि रोजगारी सुनिश्चित गर्ने विधेयक तयार पारेको स्मरण गर्दै उनले ती योजनाहरूको वास्तविक कार्यान्वयनको सुरुवात रुकुमबाटै गरेर जनयुद्धका घाइते तथा सहिद परिवारलाई उच्च सम्मान दिने प्रतिबद्धता व्यक्त गरे ।
















