१६ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशका विभिन्न निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ उम्मेदवारहरूबीचको कडा प्रतिस्पर्धालाई दृष्टिगत गर्दै नेपाल प्रहरीले विशेष सुरक्षा कमाण्ड परिचालन गर्ने भएको छ ।
सुरक्षा संवेदनशीलता र सम्भावित झडपको आकलन गर्दै प्रहरी प्रधान कार्यालयले हाई प्रोफाइल उम्मेदवार भएका क्षेत्रहरूमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को नेतृत्वमा विशेष कमाण्ड खटाउने आन्तरिक गृहकार्य सुरु गरेको छ । प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार, राजनीतिक रूपमा प्रतिष्ठाको लडाइँ मानिएका र सुरक्षा चुनौती बढी भएका जिल्लाहरूमा नियमित सुरक्षा संयन्त्रका अतिरिक्त थप जनशक्ति र उच्च अधिकारीहरूको प्रत्यक्ष निगरानी रहनेछ ।
खासगरी झापा, सर्लाही र चितवनलाई सुरक्षाका दृष्टिकोणले अति चुनौतीपूर्ण जिल्लाको सूचीमा राखिएको छ । झापा–५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) बीचको भिडन्तलाई प्रहरीले विशेष सुरक्षा घेरामा राखेको छ, जहाँ हाल कार्यरत एसपीका अतिरिक्त एसएसपीको कमाण्ड पठाउने तयारी भइरहेको छ ।
त्यस्तै, कांग्रेस सभापति गगन थापा र अमरेशकुमार सिंहबीच प्रतिस्पर्धा हुने सर्लाही–४ तथा रवि लामिछाने उम्मेदवार रहेको चितवन–२ र रेणु दाहाल–सोविता गौतमको भिडन्त हुने चितवन–३ मा पनि सुरक्षा सतर्कता उच्च पारिएको छ । दोलखा, रुपन्देही र मोरङ जस्ता जिल्लाहरूमा पनि विशेष कमाण्डसहित थप प्रहरी टोली परिचालन गर्ने प्रहरीको योजना छ ।
निर्वाचनलाई भयरहित बनाउन देशभर ७५ हजारभन्दा बढी प्रहरी परिचालन हुनेछन् भने सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगको समन्वयमा डग स्निफिङ र सरप्राइज चेकिङलाई तीव्र पारिएको छ । प्रधानमन्त्री सुशीला कार्कीले ‘निर्वाचनमा एक थोपा रगत पनि नबगोस’ भनी दिएको निर्देशनलाई कार्यान्वयन गर्न गृह मन्त्रालयले वडा तहसम्मै राजनीतिक दल र नागरिक समाजसँग समन्वय गर्ने नयाँ अवधारणा समेत अघि सारेको छ ।
यसपटक सुरक्षा संयन्त्रले केवल मतदान केन्द्रको सुरक्षा मात्र नभई, उम्मेदवारहरूबीचको आपसी टकराव र दुई पक्षीय झडप रोक्न विशेष सूचना प्रणाली र ुक्विक रेस्पोन्स टिम’ लाई सक्रिय बनाउने रणनीति लिएको छ ।
















