१६ माघ, काठमाडौं । नेकपा एमाले निकट प्रभावशाली भ्रातृ संगठन राष्ट्रिय युवा सङ्घ नेपालले नयाँ नेतृत्व पाएको छ ।
सङ्घको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई नयाँ अध्यक्षका रूपमा चयन गरेको हो । एमाले महासचिव शङ्कर पोखरेल, सचिवद्वय महेश बस्नेत र भानुभक्त ढकाललगायतका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न बैठकमा निवर्तमान अध्यक्ष क्षितिज थेबेले गुरुङलाई संगठनको बागडोर सुम्पिएका हुन् ।
गत जेठ १४ गते पोखरामा भएको दसौँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थेबेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट प्रत्यक्षतर्फको उम्मेदवार बनेपछि सांगठनिक जिम्मेवारी हस्तान्तरण गरेका हुन् । अध्यक्षको जिम्मेवारी सम्हालेलगत्तै नवनिर्वाचित अध्यक्ष गुरुङले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै संगठनलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विशेषगरी आगामी निर्वाचनमा युवाहरूको परिचालन र पार्टीको पक्षमा चुनावी माहोल सिर्जना गर्न गुरुङको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएको छ । संगठनका प्रभावशाली नेताहरूले विधानअनुसार सहज रूपमा नेतृत्व हस्तान्तरण भएकोमा खुसी व्यक्त गर्दै गुरुङको कार्यकालमा युवा सङ्घ थप जुझारु र गतिशील हुने विश्वास लिएका छन् । निर्वाचनको सँघारमा भएको यो नेतृत्व परिवर्तनलाई एमालेले आफ्नो चुनावी रणनीतिको एक हिस्साका रूपमा समेत हेरेको छ ।
















