१६ माघ,वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इन्जिनियर अरविन्द साहको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ।
शुक्रबार शहीद दिवसको अवसर पारेर कलैया उपमहानगरपालिका–१४, बघवनमा आयोजित कार्यक्रममा उम्मेदवार साहले सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहले लोकतान्त्रिक परिवर्तनका विभिन्न आन्दोलनमा ज्यान गुमाएका सम्पूर्ण शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरे।
उनले विशेषगरी जेन–जी आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमन, हत्या र हिंसाले मुलुकको राजनीतिक चेतनामा गहिरो प्रभाव पारेको उल्लेख गर्दै ती घटनाप्रति गम्भीर ध्यानाकर्षण गराए। पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित एमाले तथा नेपाली काँग्रेसका केही नेताहरूबाट जेन–जी शहीदहरूका विषयमा आएका नकारात्मक टिप्पणीप्रति आपत्ति जनाउँदै साहले यस्ता अभिव्यक्तिले शहीदहरूको बलिदानको अवमूल्यन गर्ने बताए।
“शहीदहरूको सम्मान कुनै दल वा विचारधाराको सीमाभन्दा माथि हुनुपर्छ,” साहले भने, “देश परिवर्तनका लागि ज्यान गुमाउने हरेक शहीद हाम्रो साझा गौरव हुन्।”
यसअघि घरदैलो कार्यक्रमका क्रममा साहले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। उनले पारदर्शी शासन, रोजगारी सिर्जना, शिक्षा र प्रविधिमा लगानी तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति आफ्नो प्राथमिकतामा रहेको बताए।
रास्वपाले जेन–जी अगुवाहरूलाई प्रत्यक्ष रूपमा निर्वाचन प्रक्रियामा सहभागी गराएको उल्लेख गर्दै साहले युवालाई निर्णय निर्माणको केन्द्रमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। “देशलाई नयाँ दिशा दिन युवाहरूको ऊर्जा, सोच र नेतृत्व आवश्यक छ,” उनले भने।
घरदैलोका क्रममा साहले मतदाताहरूलाई रास्वपाको घण्टी छापमा मतदान गर्दै परिवर्तनको पक्षमा उभिन आग्रह गरे। जेन–जी शहीदहरूको सपना पूरा गर्दै पुरानो राजनीतिक अभ्यास तोडेर नयाँ सोचका साथ देश अघि बढाउने समय आएको उनको भनाइ थियो।
















