Logo

१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र कुनै पनि प्रकारको आन्तरिक कलह वा प्रतिशोधको भावना नरहेको स्पष्ट पार्दै संगठन पूर्ण रूपमा एक ढिक्का भएको दाबी गरेका छन् ।

धनुषा–४ मा पार्टीका उम्मेदवार महेन्द्र यादवको चुनावी सभालाई सम्बोधन गर्दै थापाले आफू निवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर संवाद र सहकार्यमा रहेको जानकारी दिए । हालै सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र रिसराग र दोषारोपणको अध्याय समाप्त भएको उल्लेख गर्दै उनले वैचारिक मतभेदहरूलाई थाती राखेर सबै नेताहरू आगामी निर्वाचनमा एउटै लक्ष्यका साथ होमिएको बताए ।

गत भदौमा भएको जेनजी आन्दोलनले राजनीति र देश चलाउने परम्परागत शैलीमा परिवर्तनको माग गरेको सन्दर्भ जोड्दै सभापति थापाले कांग्रेसले आफ्नो सोच र पद्धतिमा आमूल परिवर्तन गरेको जिकिर गरे । फागुन २१ को निर्वाचन र त्यसअघिका राजनीतिक घटनाक्रमहरूले दिएको सन्देशलाई आत्मसात् गर्दै कांग्रेस नयाँ स्वरूपमा जनतामाझ आएको उनको भनाइ छ ।
अन्य दलहरू पुरानै ढर्रामा चले पनि कांग्रेसले माघको अधिवेशनमार्फत आफूलाई रूपान्तरण गरिसकेको भन्दै उनले अबको वास्तविक नयाँ शक्ति नै बदलिएको नेपाली कांग्रेस भएको दाबी गरे ।

थापाले निर्वाचनको मुखमा पार्टीभित्र देखिने सानातिना असहमतिहरूलाई स्वाभाविक प्रक्रियाका रूपमा व्याख्या गर्दै अन्तिम निर्णयमा सबै एकमत हुने संस्कार कांग्रेसमा रहेको बताए । उनले कार्यकर्ताहरूलाई कुनै पनि भ्रममा नपरी उत्साहका साथ चुनावी मैदानमा खट्न आह्वान गर्दै पार्टीको नयाँ नेतृत्वले सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


सम्बन्धित समाचार