१७ माघ, वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. २ अन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शुशिल साह कानुले आज बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १ स्थित छपक्कै टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
‘युवाको नारा, परिवर्तनको आधार’ भन्ने सन्देशसहित आयोजित अभियानमा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। घरदैलोका क्रममा समर्थक तथा युवाहरूले ‘हर–हर घण्टी’को नारा लगाउँदै घण्टी बजाएर अभियानलाई उत्साहपूर्ण बनाएका थिए।
उम्मेदवार कानुले सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिक एजेन्डा रहेको बताउँदै संसदमा नयाँ सोच र नयाँ अभ्यासको आवश्यकता रहेको उल्लेख गरे। उनले पुराना राजनीतिक प्रवृत्तिबाट देशले अपेक्षित परिणाम नपाएको भन्दै परिणाममुखी र जवाफदेही नेतृत्व आवश्यक रहेको धारणा राखे।
घरदैलो कार्यक्रममा सहभागी स्थानीय युवाहरूले पनि पुरानो राजनीतिक संस्कारभन्दा फरक, परिवर्तनको अनुभूति दिलाउने नेतृत्वको अपेक्षा रहेको प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा–२ मा युवाकेन्द्रित अभियानलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेको छ। उम्मेदवार कानु पछिल्ला दिनहरूमा निरन्तर घरदैलो तथा जनसम्पर्क कार्यक्रममार्फत सक्रिय देखिएका छन्।
















