१७ माघ, काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सामाजिक सञ्जालमा पार्टीका उम्मेदवार खगेन्द्र सुनारसम्बन्धी चर्चित विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले आधिकारिक विज्ञप्ति मार्फत सुनारले अघि दिएको अभिव्यक्तिले समाजमा उत्पन्न अन्योल र धार्मिक–सांस्कृतिक भावनामा पुगेको ठेसप्रति क्षमायाचना गरिसकेको स्पष्ट पारेको छ।
विज्ञप्तिमा उल्लेख छ कि सुनारले आफू शाकाहारी रहेको, कुनै पनि पशु–पंक्षी हत्याको पक्षमा नरहेको र राष्ट्रिय जनावर गाईप्रतिको सम्मानमा कुनै द्विविधा नरहेको सार्वजनिक रूपमा प्रष्ट पारिसकेको छन्। पार्टीले सामाजिक सञ्जालमा केही प्रसङ्गहरू तोडमोड गरी प्रचार गरिएको भए पनि त्यसबाट उत्पन्न भ्रम र भावनात्मक चोटप्रति उम्मेदवारले आत्मलोचना गरिसकेको जनाएको छ।
रास्वपाले उम्मेदवार सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप संयम, परिपक्वता र सार्वजनिक मर्यादा कायम राख्न सचेत गराएको छ। पार्टीले उम्मेदवारको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा राष्ट्रिय प्रतीकको अपमान गर्नु नभएको कुरामा आश्वस्त रहेको जनाएको छ।
विज्ञप्तिमा पार्टीले आफ्नो विधान र प्रस्तावनाले नेपालको इतिहास, सनातन सभ्यता तथा धार्मिक–सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मानलाई मूल मर्म मानेको स्मरण गराएको छ। साथै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकता अक्षुण्ण राख्न पार्टी सधैं कटिबद्ध रहने प्रतिबद्धता दोहोर्याएको छ।
















