Logo

१७ माघ, वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–११ र १३ का वडाध्यक्ष, निर्वाचित सदस्य र सयौँ नेता–कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल तथा अन्य दल परित्याग गरी नेकपा (एमाले) रोजेका छन्।

वीरगञ्ज–११ बाट वडाध्यक्ष अजयकुमार बारै (चौरसिया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवी र वीरगञ्ज–१३ बाट पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित सदस्य लाल मोहम्मद मन्सुरीले एमाले प्रवेश गरेका हुन्। उनीहरूलाई पूर्व मन्त्री तथा पर्सा–१ प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले फूलमालासहित स्वागत गरेका थिए, यादवका स्वकीय सचिव हरेन्द्र साहले जानकारी दिए।

कार्यक्रममा बोल्दै वडाध्यक्ष बारैले जसपा नेपाल मधेस मुद्दालाई मात्रै प्रयोग गर्दै सत्ता केन्द्रित राजनीति गरिरहेको आरोप लगाउँदै देश र जनताको हितका लागि केपी शर्मा ओली नेतृत्वको एमाले आवश्यक भएको बताए।

वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले भने, “देशी–विदेशी शक्तिहरूको दबाबमा देश अस्थिर पार्ने प्रयास भइरहेकाले राष्ट्रिय स्वाभिमान र जनताको हितमा एमाले रोज्न बाध्य भयौँ।”

पूर्व मन्त्री यादवले पनि पार्टी प्रवेश गर्दै आफू राजनीतिक हत्या प्रयासपछि एमालेमा आएको दाबी गरे। उनले जेन–जी आन्दोलनपछि सक्रिय विदेशी दबाब रोक्न र राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन ओलीको नेतृत्व प्रेरक भएको बताए।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार
भर्खरै