१८ माघ, वीरगञ्ज । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सरगर्मी बढिरहेका बेला पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादवले आफ्नै निर्वाचन क्षेत्रमा युवाहरूको तीव्र आक्रोश झेल्नुपरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६, नगवामा शनिबार आयोजित नेकपा (एमाले) को पार्टी प्रवेश कार्यक्रममा ‘जेनजी’ युवाहरूले यादवविरुद्ध नाराबाजी गर्दै लखेटेपछि केही बेर स्थिति तनावपूर्ण बनेको थियो ।
पार्टी प्रवेश कार्यक्रम चलिरहँदा स्थानीय युवाहरूले पूर्वमन्त्री यादवलाई विकास निर्माण र विगतको कार्यशैलीबारे प्रश्न गर्न चाहेका थिए । दुई पटक सांसद र तीन पटकसम्म सङ्घीय मन्त्री भइसकेका यादवसँग युवाहरूका केही गम्भीर जिज्ञासा थिए । स्थानीय युवा चन्दन प्रजापतिका अनुसार युवाहरूले सुरुमै प्रश्न सोध्न चाहेका थिए, तर यादवले कार्यक्रमको अन्त्यमा जवाफ दिने आश्वासन दिएका थिए ।
प्रजापति भन्छन्, “हामी विरोध गर्न होइन, संवाद गर्न गएका थियौँ । उहाँले अन्त्यमा बोल्छु भन्नुभयो, हामीले धैर्यताका साथ कार्यक्रम सुन्यौँ । तर, सम्बोधन सकिएपछि उहाँ हाम्रा प्रश्नको सामना नगरी बाहिरिने आशङ्का भएपछि हामीले सम्बोधनकै क्रममा जवाफ माग्यौँ । उहाँले सुन्न नचाहेपछि युवाहरू आक्रोशित भएका हुन् ।”
युवाहरूले “केही काम नगर्ने झोले नेता मुर्दावाद” भन्दै नाराबाजी गरेपछि कार्यक्रम स्थलको माहोल एकाएक बिग्रिएको थियो । आक्रोशित भिडले घेर्न थालेपछि सुरक्षाकर्मीले यादवलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । सामाजिक सञ्जालमा भाइरल भएका भिडियोहरूमा युवाहरूले यादवको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै उनीविरुद्ध नाराबाजी गरिरहेको देखिन्छ ।
यता, पूर्वमन्त्री प्रदीप यादवले भने आफू जनताको प्रश्नबाट नभागेको दाबी गरेका छन् । उनले कार्यक्रम सकिएपछि युवाहरूसँग सहज रूपमा छलफल गर्ने योजना रहे पनि युवाहरू संयमित नहुँदा अप्रिय स्थिति सिर्जना भएको बताएका छन् ।
“जनताको प्रश्न सुन्न म सधैँ तयार छु, तर संवादका लागि निश्चित समय र वातावरण चाहिन्छ ।” प्रदिप यादवले भने ।
जनता समाजवादी पार्टी (जसपा) बाट टिकट नपाएपछि हालै एमाले प्रवेश गरेर चुनावी मैदानमा उत्रिएका यादवका लागि यो घटनाले ठूलो राजनीतिक चुनौतीको सङ्केत गरेको छ । वर्षौँदेखि एउटै अनुहार र पदमा पुगेपछि ठोस परिवर्तन नभएको भन्दै सचेत युवा पुस्ताले गर्ने यस्ता प्रश्न र विरोधले आगामी निर्वाचनको परिणामलाई समेत प्रभावित पार्न सक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ ।
















