Logo

१८ माघ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजी विरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज आइतबार सुनुवाइ हुँदैछ ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका चौधरीको उम्मेदवारीलाई निर्वाचन आयोगले बदर गरिदिएपछि उनी कानुनी उपचारका लागि अदालत पुगेका हुन् ।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले यस विषयमा निर्वाचन आयोगसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो ।

चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय गैरकानुनी भएको दाबी गर्दै त्यसलाई बदर गरी निर्वाचनमा सहभागी हुन पाउनुपर्ने माग रिटमा गरेका छन् । आजको सुनुवाइले चौधरीको निर्वाचन लड्ने भविष्य र आयोगको निर्णयको वैधानिकताका सम्बन्धमा महत्वपूर्ण दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार